झापा ट्राफिकले उठायो साढे तीन करोड बढी राजश्व
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले साढे तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक बर्षमा ३ करोड ६९ लाख ५३ हजार ५०० रुपैँया राजश्व रकम संकलन गरेको जनाएको छ ।
ट्राफिक कार्यालयले ५३ हजार १०० वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन गरेको कार्यालयका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।
कार्यालयले चैत्र महिनामा सबैभन्दा धेरै ४८ लाख ९६ हजार ५ सय रुपैयाँ र जेठ महिनामा सबै भन्दा कम ८ लाख ७७ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । अन्य सवारीको तुलानामा सबैभन्दा धेरै २१ हजार १ सय ५७ वटा मोटरसाइकल कारबाहीमा परेका छन भने सोबाट संकलन भएको १ करोड ५० लाख ६४ हजार रुपैयाँ राजश्व सबै भन्दा बढी हो । ट्राफिक प्रहरीले सो अवधिमा ५३ हजार १०० वटा सवारीलाई कारबाही गरेको जनाएको छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक, बिना लाइसेन्स, बिना हेल्मेट मोटरसाइकल चलाउने चालक, तीब्र गतिमा सवारी हाँक्ने चालक, ट्राफिक नियम उल्लंघन गर्ने चालक, गलत ठाउँमा पार्किङ गरिएको सवारी आदिलाई कारबाही गरिएको प्रसनी खड्काले बताए । कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि समय समयमा विभिन्न जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको उनको भनाई छ ।