बिर्तामोड खोप प्रक्ररण : प्रतिवेदन आउन समय लाग्ने
बिर्तामोड । बिर्तामोडको एक होटलमा कोभिड विरुद्धको खोप लुकाएको भन्ने आरोप लागेपछि छानविनका लागि बनेको जिल्ला स्तरीय छानविन समितिले प्रतिवेदन बुझाउन थप एक हप्ता लाग्ने जनाएको छ । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले प्रतिवेदन तयार गर्न अझै एक हप्ता समय लाग्ने जानकारी दिए ।
साउन १६ गते बनेको समितिलाई एक हप्ताको समय दिएर छानविन गर्न अख्तियारी दिइएको थियो । सो समितिले थप एक हप्ता समय माग्दै आज प्रतिवेदन बुझाउने तयारी गरे पनि छानविन पुरा नभइसकेका कारण अझै एक हप्ता लाग्ने जानकारी दिइएको छ । समितिले छानविनका क्रममा सरोकारवालासँग आवश्यक सोधपुछ गरिसकेको छ । केहि व्यक्तिले बिर्तामोडका तत्कालिन कोभिड फोकल पर्सन ओम खड्काले खोप लुकाएको आरोप सत्य भएको दावी गरे पछि समितिले उनीहरुलाई ठोस् प्रमाण पेश गर्न भनेको छ । विभिन्न खाले आरोप लगाइएको छ, रिमालले भने – आरोप लगाउनेले प्रमाण पेश गर्नुपर्छ । हामीले त्यै भनेका छौं ।
रिमालको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनेको थियो । रिमालको संयोजकत्वमा बनेको समितिमा जिसस झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम प्रसाई र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।