मानुषी लघुवित्तको आइपिओ बाँडफाँट
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले सोमबार बिहान सेयर बाँडफाँट गरेको हो ।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको हो ।
गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने तीन जनाले ११ कित्ता सेयर पाएका बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्टले जनाएको छ । आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ ।
कम्पनीले १०० अङ्कित दरका तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारी र जारी पूँजीको पाँच प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
आइपिओ जारी भएपछि कम्पनीको चुक्तापूँजी
१० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । आइपिओको नतिजा मेरा सेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।