जङ्गली हात्तीको आक्रमणमा परेकी महिलाको शव फेला
बिर्तामोड । विहिबार बिहान जंगली हात्तीको आक्रमणमा परी बेपत्ता महिलाको शव फेला परेको छ । जंगलमा निगुरो टिप्न गएकी बिर्तामोड नगरपालिका–८ स्थित नेपालचोक निवासी ५० वर्षीया लतुमाई मर्डीको शव चन्द्रगढी सामुदायिक वनभित्र सेती खोलाको पैनीमा फेला परेको प्रहरीले जनाएको छ ।
विहिबार विहान ११ बजेतिर आफ्ना श्रीमान शुकलाल मर्डीसँग निगुरो टिप्न गएकी लतुमाईलाई जंगली हात्तीले सुँडले बोकेर जंगलभित्र लगेको थियो । पत्नीलाई हात्तीले लगेको जानकारी शुकलालले तत्कालै अस्थायी प्रहरी चौकी गरामनीलाई गराएका थिए । त्यसपछि लतुमाईको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जंगल पसेका थिए । खोजतलासको क्रममा लतुमाईको शव ४ घण्टापछि भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।