जन्मोत्सवको अवसरमा महासंघ अध्यक्ष गिरीद्वारा सहयोगको घोषणा
पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँचसय पच्चीस रुपैँया प्रदान गरिने
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई नगद सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले कोषमा २५ हजार पाँच सय २५ रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।
केहि दिनदेखि अस्वस्थ भइ घरमा आराम गरिरहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार
कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । स्वस्थ भएपछि उक्त रकम एक कार्यक्रमका
बीच हस्तान्तरण गर्ने उनले बताए ।
दर्जन बढी संघ–संस्थामा आबद्ध रहेर सामाजिक
कार्यका साथै दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो
विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।
झापाली पत्रकारहरुको हितमा आफूले महासंघको विभिन्न जिम्मेवारीमा
रहँदादेखि नै काम गर्दै आएको र अध्यक्षको जिम्मेवारीसँगै पत्रकारको हितमा आफू निरन्तररुपमा
लागि रहेको उनले बताए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ
पुर्याउने लक्ष्य राखिएको छ ।
कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार
सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको
महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । कोषमा सहयोग जुट्नेक्रम जारी रहेको
छ । आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही
रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने अध्यक्ष गिरीले
बताए ।
महासंघ झापा शाखाले विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको
दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आह्वान गरेको छ । महासंघ झापाका
अध्यक्ष गिरीले यहि कार्यकालमा कोषलाई एक करोड पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।