होल्डिङ्ग सेन्टर निर्माणको काम ६० प्रतिशत सकियो
झापा । झापाको मेचीनगरमा तीब्र गतिमा होल्डिङ्ग सेन्टर निर्माणको काम भइरहेकोछ । होल्डिङ्ग सेन्टरको संरचना निर्माणको हिसाबले ६० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको हो ।
मेचीनगर १४ दुवागढीमा ४ विगाह क्षेत्रफलमा ललितपुर २५ को हनुमान कन्स्ट्रक्सनले निर्माण गरिरहेको होल्डिङ्ग सेन्टरमा २२ वटा घर हुने निर्माण कम्पनीका साइट मेनेजर जागृत चौरेलले जानकारी दिए । प्रत्येक घरमा एउटा शौचालय र प्रत्येक दुई घरका लागि एउटा भान्साघर गरी जम्मा ५९ वटा संरचना हुने चौरेलले बताए । गत असारबाट संरचना निर्माण शुरु भएको थियो । अहिले ५९ वटै संरचनाको छाना हाल्ने काम सम्पन्न भएको साइट मेनेजर चौरेलले जानकारी दिए । हाल १५ वटा संरचनामा प्रिफ्याब बोर्ड लगाउने काम सम्पन्न भइसकेको र अन्य संरचनामा लगाउने काम भईरहेको छ । अबको एक महिना भित्रमा ११ वटा संरचना पूर्ण रुपमा सम्पन्न हुने उनको भनाई छ ।
झापा भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको समयमा भारतबाट नेपाल आउने ब्यक्तिहरुको स्क्रीनिङ गरि सम्बन्धित पालिकासम्म सुरक्षित ढंगबाट पुर्याउन होल्डिङ्ग सेन्टरको निर्माण अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । होल्डिङ्ग सेन्टर एक हजार क्षमताको हुने प्रजिअ तिमिल्सनाले बताए । रोजगारी, अध्ययन, उपचार लगायत विभिन्न कारणले भारत गएका नेपाली नागरिकहरुलाई महामारीको समयमा झापामा काकरभिट्टा नाकाबाट नेपाल प्रबेश गर्न दिइदै आएको छ । यसरी नेपाल आएका मानिसहरुको स्वास्थ्य परिक्षण गरिने, नेगेटिभ रिपोर्ट आएकाहरुलाई सम्बन्धित पालिकाहरुसँगको समन्वयमा सवारीसाधन ब्यवस्थापन गरि गन्तब्यसम्म पठाउने र पोजिटिभ देखिएकाहरुलाई छुट्टै आइसोलेसन सेन्टरमा पठाउने काम होल्डिङ्ग सेन्टरबाट हुने उनको भनाई छ ।
होल्डिङ्ग सेन्टर निर्माणमा नेपाली सेनाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणले सहजीकरण गरिरहेको गणपति कर्णेल अमरजङ्ग थापाले जानकारी दिए । होल्डिङ्ग सेन्टर निर्माण सम्पन्न भएपश्चात त्यसको ब्यवस्थापन नेपाली सेनाले गर्नेछ । होल्डिङ्ग सेन्टरका २२ वटा घरहरु मध्ये दुईवटा घरमा मेडिकल टिम रहने र बाँकी घरहरुमा सामाजिक रभौतिक दुरी कायम गरि मानिसहरु राखिने कर्णेल थापाले बताए ।
प्रिफ्याब प्रविधिबाट निर्माण भइरहेको प्रत्येक घरको लम्बाई १७७.५ फिट र चौडाइ १९.५ फिट हुने चौरेलले बताए । मेचीनगरको बसपार्क क्षेत्रमा यस अघिनै निर्माण गरिने भनिएको होल्डिङ्ग सेन्टरको लागि क्षेत्रफल अपुग भएकाले नयाँ स्थान पहिचान होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो ।