श्रीमती मार्न खोज्ने श्रीमान पक्राउ
भोजपुर । श्रीमतीलाई भरुवा बन्दुकले मार्छु भन्दै धम्की दिने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटे का ४६ बर्षीय सुजिल राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती सवा ८ बजे घरयासी विवादका कारण श्रीमती ४५ बर्षीया जुना राईलाई सुजिलले कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरी घाइते बनाएको र घरमा लुकाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भन्दै धम्की दिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट गएको प्रहरी टोलील घाईते जुनालाई उपचारको लागी स्थानीय मेडिकल ओख्रेमा पठाएको थियो । घटनास्थलमा भरुवा बन्दुक फालेर फरार रहेका सुजिललाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाएको थियो । घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक र कोदालो बरामद गरेको र थप अनुसन्धान गरिरहेको राईले बताए ।