प्रहरीको गोली लागि बुटवलमा चारको मृत्यु, दुई दर्जन बढी घाइते
बुटवल । बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयलाई लिएर आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा बाटैमा मृत्यु भएको थियो । एक जनाको उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।
प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष भएको बताइएको छ ।