झापामा फ्रेस हाउस सञ्चालकको हत्या
बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधाराको सिमानामा पर्ने महानन्द चोकमा एकजना फ्रेस हाउस सञ्चालकको हत्या भएको छ । आइतबार साँझ आफ्नै पसलमा व्यवसायीको हत्या भएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा ६ कप्तानबारी निवासी अन्दाजी ५० वर्षीय इन्द्रकÞुमार मगरको हत्या भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए । मगरलाई धारिलो हतियार प्रहार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाँटी र हातमा गहिरो चोट देखिएको छ । पसलमै बसिरहेको बेला राती करिब ८ बजे उनको हत्या भएको हुनसक्ने स्थानीयबासीले बताएका छन् ।
घटनाको अनुसन्धान गर्न प्रहरीले संघीय प्रहरी इकाई कार्यालय धरानबाट कुकुर ल्याएर स्क्रिनिङ गराएकोछ । प्रहरीले प्रदेश, जिल्ला प्रहरी कार्यालय झापा र अनारमनी इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको आचार्यले बताए । उनका अनुसार शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धानका लागि सिसि टिभी फुटेजको अध्ययन गरिरहेको बताइएको छ ।