२०८३ बैशाख ६ गते , आईतबार

कृषि कर्ममा रमाउँदै नेपाल दम्पति

sajilo news
पुष्प खड्का
२०७८ आश्विन २७ गते , बुधबार
कृषि कर्ममा रमाउँदै नेपाल दम्पति

बिर्तामोड । कृषि कर्मबाट राम्रो आम्दानी हुँदैन भन्दै विदेशिने युवाहरुको सोँचलाई यतिबेला इलामका कृषक अमर नेपालले परिवर्तन गरिदिएका छन् । अन्य युवाहरुको मात्र हैन आफ्नै सोँचलाई समेत नेपाल आफैँले परिवर्तन गरेका छन् ।

नेपालको कामले राम्रो कमाई हुँदैन भन्दै २०७१ सालमा मलेशिया छिरेका इलाम माइजोगमाई ५ का नेपाल यतिबेला आफ्नै भूमिमा कृषि कर्ममा रमाइरहेका छन् । तीन बर्ष मलेशिया बस्दा अस्वस्थ भई फर्किएका नेपालले दोहोर्याएर बिदेशिने सोँच बनाएनन् । बरु विदेशमा गरिने श्रम दनेपालमै गर्दा त्यहाँको जति आम्दानी यहिँ गर्न सकिने सोँच बनाएर स्वदेशमै खेतीपाती गर्न थाले । अहिले नेपाल दम्पतिलाई यहिँ भ्याई नभ्याई छ । उनीहरुले कृषिबाट मनग्ये आम्दानी गरिरहेका छन् । दिनहुँ जस्तै अकबरे टिप्न व्यस्त नेपाल यस बर्ष ३ लाख रुपैँया बराबरको अकबरे बेच्ने तयारीमा छन् । कृषकले उत्पादन गरेको अकबरे घरबाटै प्रतिकिलो तीनसय रुपैँयासम्म बिक्री हुने गरेको नेपालले बताए । दुई सन्तानका पिता नेपाललाई आफ्नो कृषिकर्ममा श्रीमती बिनाले सघाउँछिन् । कक्षा ९ र ६ मा अध्ययनरत छोराहरु प्रज्वल र पर्वतले समेत विद्यालय समयबाहेक अन्य समयमा बुवाआमालाई सघाउने गरेका छन् । स्थानीय डम्बर तिम्सिनाको करिब २० रोपनी जग्गा भाडामा लिएर अकबरे, अम्लिसो, चिया लगाएका नेपाल खेतीबाट मनग्ये आम्दानी भएपछि मख्ख छन् । नेपाल गाउँकै एक अब्बल कृषकको रुपमा दरिएका छन् । नगदे बालीको रुपमा राम्रो आम्दानी दिने हुँदा उनीहरु यस खेतीप्रति आकर्षित भएको बताउँछन् ।

त्यसो त नेपाल दम्पतिले दैनिक सरदर २० लिटर दुध बेच्ने गरेका छन् । दुध बिक्रीबाट उनीहरुले मासिक ३० हजार रुपैँया आर्जन गर्ने गरेको बताउँछन् । गाउँमा दुधको मुल्य अत्यन्त न्यून भएकाले खर्च अनुसारको आम्दानी नहुने उनीहरुको गुनासो छ । चोकर, दाना लगायत गाइको खाद्यवस्तु महंगो हुने तर दुधको मुल्य कम हुनेहुँदा कृषकहरु मारमा रहेको नेपाल बताउँछन् । गाउँमा गुणस्तरको आधारमा गाईको दुध प्रतिलिटर ५० रुपैँयासम्ममा बिक्री हुने गरेको उनको भनाई छ ।

नेपाल दम्पतिले दर्जनबढि बाख्रा समेत पालेका छन् । बाख्राका पाठापाठी तथा खसी बिक्रीबाट समेत उनीहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । योसँगै उनीहरुले बर्षेनी ठूलो मात्रामा अदुवा उत्पादन गर्ने गरेका छन् । नेपाल दम्पतिले चिया र कुचो बिक्रीबाट समेत राम्रो आम्दानी लिने गरेको बताउँछन् ।

कृषि कर्म गरेरपनि स्वदेशमै राम्रो आम्दानी गरिरहेका नेपालले अब भने विदेशको सपना त्यागिसकेका छन् । विदेशी भूमिमा जति नै समय र मेहेनत गर्ने हो भने नेपालमा पनि राम्रो कमाई गर्न सकिन्छ भन्नेमा उनीहरु यति बेला ढुक्क छन् । अर्काको देशमा गरिने परिश्रमले नेपालमा रेमिट्यान्स त भित्रिएला तर स्वदेशमा गरिने कामले भने नगद आम्दानीका साथै कुल गार्हस्थ उत्पादनमा वृद्धि गर्दछ जसका कारण बैदेशिक व्यापार घाटा समेत कम हुने देखिन्छ ।

सम्बन्धित समाचार