नेपाल बन्यो साफ च्याम्पियनसिपको उपविजेता
काठमाडौ । शनिबार माल्दिभ्समा सम्पन्न १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५० औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको इन्ज्युरी टाइममा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।
नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।
यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपाल भने पहिलो पटक साफको फाइनलमा पुगेर उपविजेता बनेको छ ।