२०८३ बैशाख ६ गते , आईतबार

पाँचथरमा मृत्यु भएका मध्ये २६ जनाको सनाखत (नामावली सहित)

पोष्टमार्टम नगरी दाहसंस्कार गर्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ५ गते , शुक्रबार
पाँचथरमा मृत्यु भएका मध्ये २६ जनाको सनाखत (नामावली सहित)

पाँचथर । बाढीपहिरोले ध्वस्त बनाएको सडक र भौगोलिक विकटताका कारण मृतकलाई अस्पताल ल्याउन कठिन हुने भएपछि पाँचथरमा पहिरोमा परि मृत्यु भएकाको पोष्टमार्टम नगर्ने निर्णय भएको छ ।

ठुलो संख्यामा मृत्यु भएकाले जनप्रतिनिधि, प्रहरीले मुचुल्का गरि दाहसंस्कार गर्ने गरी सर्वपक्षीय बैठकबाट निर्णय भएको हो । बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । सदरमुकामदेखि निक्कै टाढा घटनास्थल रहेकाले मृतकको पहिचान, उद्धारमा समेत समस्या भइरहेको अवस्थामा पोष्टमार्टम नगर्ने निर्णय गरिएको हो ।

तीन दिनदेखि मृतकको लास घटनास्थलमै रहेकाले शंकास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपद् (पहिरो)कै कारण मृत्यु भएको स्पष्ट यकिन भएकाले वडा अध्यक्षको रोहवरमा मुचुल्का खडा गरि सतगदको प्रक्रिया अघि बढाउने निर्णय भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्थाका प्रमुखसहितको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो । यो निर्णयसँगै घटनास्थलमा रहेका शवलाई दाहसंस्कारको लागि प्रक्रिया अघि बढ्नेछ । जिल्लामा मंगलबार गएको पहिरोका कारण २७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये प्रहरीले २६ जनाको पहिचान गरि सनाखत भएको पुष्टि गरेको छ । अझै ६ जना बेपत्ता भएका छन् । ८ जना घाइते छन् । एक जना घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

पहिरोमा सबैभन्दा धेरैको ज्यान गएको मिक्लाजुङ गाउँपालिकामा २० जना र बाँकी अन्य गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ । प्रहरीको जानकारी अनुसार पाँचथरमा ६ जना बेपत्ता रहेका छन् ।

प्रहरीबाट सनाखत भएकामध्ये फिदिम १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बु, ४ वर्षीय रोयन मगर, फाल्गुनन्द ३ मालिङगेका १० वर्षीय युगेस तामाङ, २८ वर्षीय फुर्वा तामाङ, ४ च्याप्लुङका ३५ वर्षीय रामप्यारी तुम्बापो चेम्जोङ, कुम्मायक २ लाक्तोपाकी ४० वर्षीया डम्बरकुमारी शेर्मा रहेका छन् ।

यस्तै, मिक्लाजुङ ५ कारबारीका ७५ वर्षीय धनबहादुर लावती, हुलाकका ३६ वर्षीया चन्द्रकला राई, सितेम्बा बस्ने ४७ बर्षिय मनबहादुर राई, ४६ वर्षीया बिमला श्रेष्ठ राई, पञ्चमी बस्ने वर्ष ३१ को बिष्णुबहादुर लावती, वर्ष ३१ को सन्दीप लावती, वर्ष १७ को अनिल राई, १७ वर्षीया अनिया चोम्बाङ, २८ वर्षीय प्रताप चोम्बाङ, ६५ वर्षीय पदमसिंह चोम्बाङ, ३१ वर्षीय सुरज चोम्बाङ, ५५ वर्षीया भद्रमाया लावतीको सनाखत भएको छ ।

यसैगरी, मिक्लाजुङ १ अठभैयाका ३५ वर्षीय सन्तोष नेपाली, २५ वर्षीय बबिन राई, २७ वर्षीय अनिल राई, धनकुटा बस्ने बर्ष ६० का मगर साइला, मिक्लाजुङ २ नाकेदिम बस्ने बर्ष ५१ कि मानमती शेर्मा, वर्ष २१ कि निशा शेर्मा, मिक्लाजुङ ७ की मनमाया राई र वीरमान राई रहेको सनाखत भएको हो ।

सम्बन्धित समाचार