हिमाल चढ्ने क्रममा श्रीअन्तुका घिमिरेको निधन
इलाम । इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुका युवा धरणी घिमिरेको मकालु हिमाल आरोहण गर्नेक्रममा निधन भएको छ । स्थानीय मेची माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष घिमिरे मकालु बेसक्याम्पको ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि गम्भीर बिरामी परेका थिए ।
गत असोज ३१ गते ४ हजार २ सय मिटर उचाईको टाडोसा बेसक्याम्पभन्दा केही माथि पुगेपछि धरणी बिरामी परेका थिए । उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेसक्याम्प ल्याइएपछि निधन भएको हिमाल चढ्न सँगै गएका धरणीका माइला दाजु रुद्र घिमिरेले बताए । याङ्माले बेसक्याम्प पुर्याउनुअघि नै अझ गम्भीर भएपछि उनलाई उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो । तर, ३ हजार ५ सय मिटरमा रहेको याङमालेमा ४२ घण्टासम्म पर्खिंदा पनि हेलिकप्टर आउन नसकेपछि कात्तिक १ गते दिउँसो करिब साढे १२ बजे धरणीको निधन भएको उनले जानकारी दिए ।
‘तर, कुनैपनि माध्यमबाट सम्पर्क हुन नसकेका कारण घरमा समेत यो घटनाको खबर पुर्याउन पाइएन,’ त्यहाँबाट फर्केर संखुवासभाको नुम बजार आइपुगेका रुद्रले भने, ‘फोन सम्पर्क हुने ठाउँमा हिजोमात्रै आइपुगेर सबैतिर खबर गर्यौं ।’ बिरामी लिन पुग्न नसकेपनि शव बोकाउन हेलिकप्टर मगाउँदासमेत पुग्न नसकेको उनले बताए । ‘नुम बजारसम्म शव ल्याउन स्थानीयलाई २ लाख रुपैयाँमा जिम्मा दिएपछि २ घण्टाभन्दा बढी बोक्न सकेनन्,’ रुद्रले भने, ‘हाम्रो परम्पराअनुसार स्थानीय बरुण नदीमा शव जलाउन प्रयास गर्दा सम्भव नभएपछि स्थानीय समुदायकै परम्पराअनुसार सद्गत गरेर नुमसम्म आइपुगेका छौं ।’
इलामको सूर्याेदय नगरपालिकाका ४ सहित ७ युवा मकालु हिमाल आरोहण गर्न गत असोज २५ मा हिँडेका थिए । उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नुम बजार पुगेका थिए । मकालु बेसक्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको थियो । ‘स्थानीय जानकारका अनुसार भाइलाई एक्विट निमोनियाँ भएको थाहा भयो,’ रुद्रले भने, ‘उनलाई अस्पताल पुर्याउन निकै प्रयास गरेपनि सबै प्रयास बिफल बनिदिए ।’