बर्षाको बितण्डा : १११ को मृत्यु ३७ जना बेपत्ता
सबैभन्दा बढि १ नम्बर प्रदेशमा ६५ जनाले ज्यान गुमाए
काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न भागमा आएको बाढीपहिरो र डुबानमा परि १ सय ११ जनाले ज्यान गुमाएका छन ।
बाढीपहिरोमा परि ३७ जना अझै वेपत्ता रहेको र खोजतलास भैरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।
मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ । वेपत्ताको खोजीकार्य जारी छ ।
बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाया मरेको जनाइएको छ ।
उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।