२०८३ बैशाख ६ गते , आईतबार

सार्वजनिक वित्त ब्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १० गते , बुधबार
सार्वजनिक वित्त ब्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिर्तामोड । झापाली संचारकर्मीहरुको लागि सार्वजनिक वित्त ब्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक पत्रकार समाज नेपाल (सेजन)को आयोजनामा बुधबार झापाको चन्द्रगढीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का सचिव सुमन दाहालले सार्वजनिक वित्त ब्यवस्थापनका लागि योजनाको सही प्राथमिकिकरण, कार्यान्वयन र उत्तरदायित्व बोध हुनुपर्ने बताए । दाहालले बजेट बिनियोजन गर्दा आवश्यकताका आधारमा गरिनुपर्नेमा जोड दिए । योजनाहरु दबाब र प्रभावका आधारमा छनौट गरिँदा लक्ष्य अनुसार उपलब्धी हासिल नहुने बताए । अर्थ प्रणाली मापनको बिषयमा बोल्दै महालेखा नियन्त्रक सुमनराज अर्यालले पछिल्लो दशकमा नेपालीहरुको घट्दो जन्मदर र बढ्दो आयुका कारण अबको केही बर्ष पछाडि श्रम गर्ने उमेरका मानिसको संख्या कम हुने र प्रौढहरुको संख्या बढी हुने हुँदा राज्यले सामाजिक सुरक्षा ब्यवस्थापनका लागि अहिलेबाट नै सोच्नु पर्ने धारणा ब्यक्त गरे । अर्थतन्त्रमा जनसांख्यिक तथा भौगोलिक आदि क्षेत्रले भुमिका खेल्ने उनको भनाई थियो । 

संचारकर्मीहरुलाई सार्वजनिक वित्त सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा सहयोग पुर्याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको सेजनका अध्यक्ष जनार्दन बरालले जानकारी दिए । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय (पेफा)को सहयोगमा भएको कार्यक्रममा झापाका ४० जना बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सेजनका पुर्व अध्यक्ष तथा इकागज डटकमका समाचार प्रमुख पुष्पराज आचार्य, सहमहालेखा नियन्त्रक नवराज ढुङ्गाना तथा पेफा सचिवालयका सदस्य सचिव गोरखबहादुर शाही लगायतले प्रस्तुतीकरण राखेका थिए । 

सम्बन्धित समाचार