दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु
बिर्तामोड । झापाको गौरादह ४ धरधरेस्थित भित्री सडकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट गौरादह ४ बस्ने भानु अधिकारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मे ९ प २७०३ का मोटरसाइकल चालक खत्रीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । दुर्घटनाबाट मे ६ प ५४१६ नम्बरको मोटरसाइकल चालक अनुप राजवंशी र सोही मोटरसाइकलको पछाडी सवार ललित शर्माको अवस्था गम्भिर भएकाले उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । मृतक अधिकारीको शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी महारानीझोडाको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।