झापा विद्रोहका योद्धा मानकुमारको घर शिलन्यास
बिर्तामोड । नेपाली कम्युनिष्ट आन्दोलनको चर्चित कालखण्ड झापा विद्रोहका योद्धा मानकुमार तामाङको घर शिलन्यास भएको छ । लेखक तथा पत्रकार कुमार भट्टराईको अगुवाईमा निर्माण हुने घर आज फुलपातीको
शुभ अवसर पारेर शिलन्यास गरिएको हो ।।
झापा विद्रोहका आफ्ना सहयोद्धाहरु आलीशान महलमा बसेपनि मानकुमार भने अर्जुनधारा १ स्थित जीर्ण घरमा कष्टपूर्ण जीवन बिताईरहेका छन् । उक्त आन्दोलनका नायक मानकुमार राजनीतिकसँगै आर्थिक हिसाबले समेत ओझेलमा परे । सहयोद्धाहरु केपी शर्मा ओली, राधाकृष्ण मैनालीहरुले सम्पन्न जीवनयापन गरेपनि मानकुमार भने अभावकै जिन्दगी बाँचिरहेको घर निर्माणमा सहयोग गरिरहेका सञ्चारकर्मी तीर्थ सिग्देलले बताए ।
पञ्चायतकालमा मानकुमारले १७ बर्ष जेल जीवन बिताएका थिए । आफ्ना सहयोद्धाहरु राज्यको उपल्लो तहमा पुग्दा समेत मानकुमारहरुले कुनै सहयोग पाउन नसकेपछि सहयोगी मनहरुको सहयोगमा घर निर्माण थालिएको सिग्देलले बताए ।
घर निर्माणका लागि सहयोग जुट्न शुरु भई सकेको छ । नेकपा एमाले अर्जुनधाराका नगर अध्यक्ष बलदेवसिंह गोम्देनले २ बण्डल जस्तापाता र नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज नरकुमार -नारद_ तामाङले १० हजार रुपैँया सहयोग उपलब्ध गराएको घर निर्माणमा अगुवाई गरिरहेका भट्टराईले जानकारी दिए । सूर्योदय इन्जिनियरिङ कन्सल्टेन्सीले २ बेडरुम, एक किचन र एक बरण्डा सहितको घरको नक्सा तयार पारिदिएको छ । तामाङको घर निर्माणमा सहयोग गरिदिन भट्टराईले सबैलाई आग्रह गरे ।