अघिल्लो सरकारका राम्रा काम प्रदेश १ मा संस्थागत गरिने
बिर्तामोड । प्रदेश १ को सरकारले अघिल्लो सरकारले यस अघि गरेका राम्रा निर्णयलाई संस्थागत गर्ने भएको छ । पार्टीको जिल्ला कार्य समितिले बिर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले त्यस्तो बताएकी हुन ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट राज्यमन्त्री बनेकी तुम्बाहाम्फेले यस अघि प्रदेश सरकारले गरेका सबै निर्णय खारेज नगरिने बताएकी छिन । अघिल्लो सरकारले गरेका राम्रा कामलाई संस्थागत गर्दै आगामी दिनमा जनताले महशुस गर्ने काम गरेर देखाउने बताइन । पत्रकारहरुसँग कुराकानी गर्दै सम्बाहाम्फेले यहि सरकारले प्रदेशको नामाकरण गर्ने बताइन । सर्वपक्षीय सहमतिका आधारमा नामाकरण गर्ने जनाउँदै तुम्बाहाम्फेले सहमति नजुटेसम्म प्रदेश १ नै नाम रहने बताइन । ‘नामाकरणको बिषय सजिलो छैन,’ उनले भनिन्,‘प्रतिपक्षसँग समेत सहमति जुटाएर नामाकरण गर्नेछौँ सहमति नजुटे प्रदेश १ नै नाम रहनेछ ।’ यस अघि नै मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण गरिने बताएका थिए । सरकार बनेको लामो समयसम्मपनि प्रदेशको नामाकरण गर्न नसकेको भन्दै शेरधन राई नेतृत्वको सरकार आलोचित बनेको थियो । राज्यमन्त्री तुम्बाहाम्फेले वर्तमान गठबन्धन नटुट्ने बताइन । तुम्बाहाम्फे पार्टीको तर्फबाट एक्ला सांसद हुन ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाका अध्यक्ष धनबहादुर पङ्गधाकले पार्टीको मुद्धालाई प्रदेश सदनमा पेचिलो बनाउन राज्यमन्त्री सम्बाहाम्फेलाई आग्रह गरेको बताए । सरकारमा पार्टीको निर्णयलाई सशक्त रुपमा राख्न समेत सुझाव दिएको उनको भनाई छ । आफूहरुले समेत यस अघिका सरकारले आफूभन्दा अघिल्लो सरकारले गरेको निर्णयहरु उल्ट्याउने गरेको तीतो परम्परालाई तोड्दै राम्रा कामको निरन्तरता र नराम्रा कामलाई मात्र खारेज गर्न सुझाव दिएको बताए ।