आज भाइटीका : उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा
बिर्तामोड । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार अर्थात यमपञ्चकको अन्तिम दिन आज भाइटीका मुलुकभर भाइ पूजा गरी मनाइदैँछ ।
भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइहरुको निधारमा दीर्घायु र प्रगतीको कामना गर्दै सप्तरंगी टिका लगाइदिने गरिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई टिका लगाइ दिदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जिवीका साथै यमराज र यमुनाको पूजा गरी तेलको घेराहालेर ओखर फुटाई मखमली, सयपत्री र दुबोको माला लगाएर चिरायुको कामना गर्ने गर्दछन ।
टिकाको साइतको प्रतिक सातवटा वा पाँच वटा रंगको प्रयोग गरिनुका साथै सगुन मिठाई फलफुल, ओखर, कटुस, मसला, सेल रोटी दिने चलन छ । दाजुभाइले पनि टिका लगाइदिएर दिदीबहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य सुख समृद्धि र चिरायुको कामना गर्ने गर्दछन ।
पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई बिशेष सम्मानका साथ पूजा गरी टिका लगाई दीर्घायुको कामना गरेको सम्झनामा भाइटीका लगाउने परम्परा चल्दै आएको हो ।
आफ्ना दिदीबहिनी नहुने दाजुभाइले आज राजधानीको यमलेश्वर महादेबको मन्दिरमा दर्शन गरी टिका लगाउने चलन छ । सो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र खुल्ने गर्दछ । भाइटीकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ । तर दिनभरी नै टिका लगाउन फरक नपर्ने बताइएको छ ।