बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
यस्तो छ राजनीतिक जोडघटाउ
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन । सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिन लागेका हुन ।
बहुमतका आधारमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा -एकीकृत समाजवादी_ का नेता पाण्डे यही कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले एक महिना नपुग्दै विश्वासको मत लिन लागेका हुन । सोमबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव पेश हुँदैछ । सम्भवत आजै मुख्यमन्त्रीको प्रस्तावमा मतदान हुने एक नेताले जानकारी दिए ।
प्रदेशसभामा बहुमत गुमाएपछि एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाण्डेलाई नेपाली कांग्रेस,
माओवादी केन्द्रसहितका दलले समर्थन गरेका छन । बागमती प्रदेशसभामा हाल १०९ सांसद छन । प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक पर्छ । मुख्यमन्त्री नियुक्त हुँदा पाण्डेको पक्षमा ५९ जना सांसदले हस्ताक्षर गरेका थिए ।
यस्तो छ राजनीतिक जोडघटाउ
मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ ।
बागमती प्रदेशमा आवद्ध अन्य साना दलका ८ जना सांसद् छन । प्रदेशसभामा विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २÷२ र जसपाको एक जना सांसद् छन । जसपा गठबन्धनमा रहेकाले यस अघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउन पक्षमा हस्ताक्षर गरिसकेको छ । यता, विवेकशील साझा पार्टीसहित अन्य दलले भने यस बारेमा प्रतिक्रिया दिएका छैनन ।