२०८३ आश्विन १७ गते , शनिबार

तराईमा छठको हर्षोल्लास, झकिझकाउ नदी किनार

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २४ गते , बुधबार
तराईमा छठको हर्षोल्लास, झकिझकाउ नदी किनार

बिर्तामोड । तराईमा छठको हर्षोल्लास शुरु भएको छ । छठपर्व मनाउन नदी किनार सजाइएको छ । तराईका अधिकांश ठूला नदी तथा पोखरीहरु यतिबेला दुलही झैँ सिङ्गारिएको छ ।

छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन ।

यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन ।

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उनले छठ पर्वलाई सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्व भनेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि छठको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन ।

यसअघि ब्रतालुले कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा अरबाइ’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा तराईका नदी किनार, पोखरी तथा तलाउ अहिले दुलहीझैँ सिङ्गारिएका छन । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन । ब्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि  छठपर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरेपछि कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ सम्पन्न हुन्छ ।

झापाको कन्काई, बिरिङ, मेची लगायतका नदी किनारमा छठका लागि घाट तयार पारिएको छ ।

 

 

सम्बन्धित समाचार