अबको कांग्रेस झापा सभापति देउमान थेवे बनाउने सम्झौता भएको खुलासा
बिर्तामोड । नेपाली कांग्रेस झापाको अबको महाधिवेशनबाट देउमान थेबेलाई सभापति बनाउने लिखित सम्झौता अघिल्लै महाधिवेशनमा भएको खुलासा भएको छ । नेता केशवकुमार बुढाथोकीले १३औँ महाधिवेशनको समयमा नै १४औँ महाधिवेशनमा थेबेलाई सभापति पदमा सबै नेता कार्यकर्ताले समर्थन गर्ने लिखित सम्झौता भएको बताएका छन ।
झापाको शिवसताक्षीमा वुधबार पाटीको कार्यक्रममा बोल्दै नेता बुढाथोकीले १३औं महाधिवेशनका बेला नै १४औँ महाधिवेशनमा थेवेलाई सभापति बनाउने लिखित सम्झौता भएको र सोको पालना गर्न नेपाली काँग्रेसका नेता कार्यकर्तालाई आव्हान गरे । १३औँ महाधिवेशनमा नेता थेवेले पाटीमा त्याग गरेको उनले बताए । ‘म आफू साक्षी बसेर गरिएको लिखित सम्झौताको खिल्ली उडाउन पाइँदैन,’ नेता बुढाथोकीले भने, ‘उहाँकै त्यागले उद्धव थापा पार्टीको जिल्ला सभापति भएको कुरा पाँचै वर्षमा कसैले विर्सन हुँदैन ।’ उहाँलाई फेरी शहिद नबनाउन नेता कार्यकर्तालाई बुढाथोकीले ध्यानाकर्षण गराए । उनले पार्टी भित्रका इमान्दार र कर्तव्यनिष्ठ नेता थेवेलाई पूर्वशर्त अनुसार नेतृत्व प्रदान गर्न नेता कार्यकर्तालाई आव्हान गरे । लामो समयदेखि खस आर्यले मात्र नेतृत्व गरेको नेपाली कांग्रेस झापाको नेतृत्व यो पटक क्रमभंग हुने उनले बताए । आदिवासी जनजातिको छोराले नेतृत्व लिन्छु भन्दा पूर्व सम्झौतालाई बिर्सिएर भाजो हाल्न खोज्नेले समाबेशी संविधान पनि अध्ययन गर्न उनले सुझाए । ‘झापामा राजवंशी, चौधरी,खराई, लिम्बू, दलित, गन्गाईका छोराछोरीले नेतृत्व लिन हुँदैन ?’ भन्दै उनले प्रश्न गरे । झापाबाट प्रतिनिधित्व गर्ने एक केन्द्रिय नेताले बेइमानी गर्न लागेको समेत उनले गुनासो गरे ।
यसै बिच नेता थेबेले आसन्न महाधिबेशनमा झापा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन । बुधबार शिवसताक्षीमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन । विभिन्न नेता तथा कार्यकर्ताको उपस्थितीमा थेवेले उम्मेदवारी घोषणा गरेका हुन । आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ता भेटघाट तथा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थेबेले १३औ महाधिवेशनमा नेताहरुको आग्रहमा सभापतिको दावीबाट पछि हटेको बताए । १४औ महाधिवेशनमा आफुलाई सभापति बनाउने त्यसबेलाको सहमतिमा नेताहरुको समर्थन यथावत रहेको थेबेले विश्वास ब्यक्त गरे ।
थेवे पार्टीको भातृ संगठन इन्चार्ज तथा पुर्व उपसभापति हुन । २०३६ सालको विद्यार्थी आन्दोलनबाट आफुलाई राजनीतिमा प्रवेश गराएका थेबे २०४२ सालदेखि नेपाली कांग्रेस झापा जिल्लासँग निकट रहेर काम गर्दै आएका छन । कुनै समय देउवा निकट मानिएका उनी पछिल्लो समय सिटौला निकट मानिन्छन । थेबेलाई केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको समेत आशीर्वाद रहेको छ ।