युरोपियन शहरको झल्को दिने ‘प्रसिद्धि कोलोनी’ को रात्रिकालीन दृश्य
बिर्तामोड । झिलिमिली बत्ती, दाँयाबाँया सफा बाटो, बाटो छेउमा ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरु, सानो पार्क, व्यवस्थित बाँधिएको बाँध अनि बिचमा सुस्ताउँदै बगेको नदी । झट्ट हेर्दा यो दृश्यले कुनै युरोपियन शहरको झैँ झल्को दिन्छ । तर, यो कुनै बाहिरी मुलुकको नभएर बिर्तामोडको बिच भाग भएर बग्ने अदुवा खोलाको प्रसिद्धि कोलोनी क्षेत्रको दृश्य हो ।
सायदै सबैको कल्पनामा यस्ता दृश्य आउने गर्दछन् । आफ्नो घर सामुन्ने यस्ता दृश्य हुँदो हो त त्यहि दृश्य हेरेर सयौँ पीडा भुल्न सकिन्थ्यो होला । कविहरु त्यहि दृश्यको बखान गरेर दर्जनौँ कविताहरु लेख्थे होलान् अनि प्रेमजोडीहरु आफूलाई प्रेमिल दुँनियामा हराउँथे होलान् ।
अहिले बिर्तामोड ४ मा निर्माण भएको प्रसिद्धि कोलोनीले उक्त क्षेत्रको अदुवा खोलालाई व्यवस्थित गरेर धेरैको कल्पनाको संसार झैँ बनाएको छ । तिहारको अवसरमा कोलोनीले अदुवा खोलाको दाँयाबाँया लगाएको झिलिमिली बत्तीले रात्रिकालीन समयमा यो क्षेत्रलाई कुनै युरोपियन शहरको भन्दा फरक दृश्य देखिएको छैन । यहाँको मनमोहक दृश्य कै कारण मानिसहरु टिकटक बनाउन, सेल्फी खिच्न भिड नै लाग्ने गरेको छ ।
समग्रमा कोलोनीले अदुवा खोला भन्ने बित्तिकै धेरैको मनमा आउने एउटा दुर्गन्धित खोलाको वास्तविक दृश्यलाई पर्यटकीय बनाउन सकिन्छ भन्ने उदाहरण पस्केको छ । यो क्षेत्रले एउटा विकासको मोडल नै प्रस्तुत गरेर देखाएको छ भन्दा अत्युक्ति नहोला । अव्यवस्थित शहरीकरणका कारण खुम्चँदै गएको र मानिसको डम्पिङ साइटको रुपमा परिणत हुँदै गएको अदुवा खोलालाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ प्रसिद्धि कोलोनी ।