कृषकको आपत्तिपछि वडाध्यक्ष संग्रौलाले दिए स्पष्टिकरण
बिर्तामोड । आफ्नो फेसबुकको स्टाटसलाई लिएर लिएर मेची मत्स्य व्यवसायीक कृषक समूहले आपत्ति जनाएपछि बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले विज्ञप्ति मार्फत स्पष्टिकरण दिएका छन् । वडाध्यक्ष संग्रौलाले हस्पिटलबाट उत्पादित मानव सिनो रातको समयमा माछा पोखरीहरुमा हाल्ने गरिएको बिषयलाई आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए ।
संग्रौलाले बिशेष सूचना भन्दै झापा जिल्लाका विभिन्न हस्पिटलको मानव सिनो संकलन गरेर माछा पोखरीमा रातिराति १ बजेदेखि ३ बजेसम्म हाल्ने काम भएको भन्ने सुन्नमा आएकोले त्यस्ता माछा अर्गानिक माछा भन्दै बेच्नेहरुमाथि कडा निगरानी गर्न खोज पत्रकारिता गर्ने मित्रहरु , सचेत नागरिक र प्रशासनसमक्ष हार्दिक अनुरोध गर्दछु भनी सामाजिक संजालमा स्टाटस लेखेका थिए ।
वडाध्यक्षको स्टाटसप्रति आपत्ति जनाउँदै समूहले विज्ञप्ति मार्फत वडाध्यक्ष संग्रौलाले भ्रामक, तथ्यहिन र बिनाआधार सामाजिक सञ्जाल फेसबुकमा माछा पालन सम्बन्धी स्टाटस लेखेको भन्दैे आक्रोश व्यक्त गरेका थिए । । त्यस स्टाटसप्रति माछापालकका तर्फबाट मेची मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटी र सचिव राजेश देवानले आपत्ति जनाएका थिए । बिहीबार बिहान बिर्तामोड ३ सैनिकमोडमा बैठक बसेर माछा पालक किसानहरुले फेसबुकमार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने वडाध्यक्ष संग्रौलालाई सूचना सच्याउँन माग गरेका थिए । उनीहरुले कपोकल्पित र आम उपभोक्तामा भ्रम फैलाउने उद्देश्यले फेसबुकमा स्टाटस लेख्नु जनप्रतिनिधिबाट गैरजिम्मेवार कार्य भएको टिप्पणी गरेका थिए ।
कृषकको विरोध र चर्को आलोचना पश्चात वडाध्यक्ष संग्रौलाले पुनः फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै त्यसको स्पष्टिकरण दिएका छन् । संग्रौलाले जनताको स्वास्थ्यमा खेलवाड नहोस् भनेर सचेतनाको निम्ति फेसबुक स्टाटस लेखेको भन्दै विज्ञप्ति जारी गरी स्पष्ट पारेका हुन त्यसपछि वडाध्यक्ष संग्रौलाले विज्ञप्ति जारी गरी स्पष्ट पारेका हुन् ।
‘मैले हिजो चारपानेको कुनै चिया पसलमा ५ जना अपरिचित व्यक्तिहरुले गफ गरेको विषयमा यस्तो संवेदनशील विषय जनताको स्वास्थ्यमा खेलवाड नहोस् भनेर सचेतनाको निम्ति फेसबुक स्टाटस लेखेको सत्य हो । उक्त सचेतनामा कुनै व्यवसायी, पोखरीलाई तोकिएको छैन । इमान्दार व्यवसायीहरुलाई यस विषयले जेनेरल लाईज भएबाट व्यवसायमा असर पर्ने बुझेर स्टाटसलाई मैले डिलिट पनि गरे । व्यवसायीप्रति आँच पुग्ने हुनाले यसमा म दुःख प्रकट गर्दै तपाईहरुको पेशाप्रति सम्मान जाहेर गर्दछु ।’ संग्रौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले माछापालन किसानको पेशा व्यवसायप्रति सकारात्मक पहल हुने भन्दै लक्षित नभएको विषयमा चित्त दुखाएकोमा आफनो तर्फबाट दुःख प्रकट गरेका छन् ।