सवारी चालक अनुमतिपत्र अब सेवा कार्यालय इलामबाटै
इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने अनुमति पाएको छ । इलामबाट सेवा शुरु हुने भएपछि मेची तथा कोशीका पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई बिर्तामोड जानु पर्ने बाध्यता हटेको छ ।
कार्यालयले नयाँ लाइसेन्सका सबै कार्यगर्ने गरी अनुमति पाएको हो । अब अनलाइन फाराम भरेर सेवा कार्यालय इलामबाट नै लिखित तथा प्रयोगात्मक (ट्रायल) दिन पाइने भएको छ । कार्यालयका अनुसार कात्तिक २७ देखि नै इलाम कार्यालयअन्तर्गत भर्न मिल्ने गरी अनलाइन फाराम खुलिसकेको छ । सेवाग्राहीले अनलाइन फाराममा परीक्षा केन्द्रको महलमा सेवा कार्यालय इलाम छनोट गरेपछि यहाँबाट परीक्षा दिन पाउने कार्यालयले जनाएको छ ।
प्रदेश १ मा इलामसहित पहाडी जिल्लाहरु धनकुटा र ओखलढुङ्गामा यातायात कार्यालय रहेपनि यी कार्यालयलाई नयाँ लाइसेन्स जारी गर्ने अनुमति थिएन । तर, यी कार्यालयमध्ये इलामले लाइसेन्स जारी गर्ने अनुमति पाएको हो । तर, इलाम कार्यालयका लागि विभागले दैनिक निश्चित कोटामा मात्र आवेदन फाराम लिने अनुमति दिएको छ । मोटरसाइकल, स्कुटर र मोपेडका दैनिक सय, स्कुटरका ४०, कार, जिप, डेलिभरी भ्यानका ३०, टेम्पो, अटो र रिक्साका २०, एस्काभेटरका २०, ब्याकहु लोडरका १५ र ट्रयाक्टरका १५ आवेदन लिन कार्यालयलाई अनुमति छ । यीमध्ये पनि कार्यालयले पहिलो चरणमा क्याटागोरी ‘ए’ अन्तर्गतका मोटरसाइकल, स्कुटर र मोपेड, क्याटागोरी ‘बी’ का कार, जिप, डेलिभरी भ्यान र क्याटागोरी ‘के’ मा पर्ने स्कुटरको मात्र लाइसेन्स जारी गर्ने कार्यालयले जनाएको छ ।
यसअघि नयाँ लाइसेन्स लिन इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाबाट झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेची जानुपर्ने बाध्यता थियो । २०७१ साल मंसिरमा इलाममै कार्यालय खुलेपछि भने पहाडी जिल्लाका सेवाग्राहीले सवारीको नवीकरण र नामसारीलगायतको सेवा पाउँदै आएका थिए ।