नक्कली मल बनाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ
बिर्तामोड । झापाको कनकाई नगरपालिका ४ कामाटोलीमा नक्कली रसायनिक मल बनाउँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन । प्रहरीले नक्कली पोटास मल बनाउन प्रयोग गरिएको सामाग्री सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
नुनमा मिसाउन प्रयोग गरिएको रंग
सोमबार अपरान्ह ३ बजे कामाटोलीका तिलक पौडेलको घर पछाडीको खाली जमिनमा धुलो नुनमा रंग मिसाएर नक्कली पोटास मल बनाएर बिक्री गर्न लागिएको भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट गएको टोलीले खाने धुलो नुनमा रंग मिसाएर पोटास जस्तो देखिने पदार्थ तयार गरी बिक्री गर्न लागेको फेला पारेको थियो । घटनास्थलबाट प्रहरीले बिक्रीका लागि तयार गरिएको मल जस्तो देखिने बस्तु १३ बोरा, खाने नुन २ बोरा, नुनमा मिसाउन प्रयोग गरिएको रंग ८ पोका र मिसाउनका लागि भुइमा राखिएको मल जस्तो देखिने बस्तु २ बोरा बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएकोे थियो । घटनाको अनुसन्धानका लागि जग्गाधनी तिलक पौडेल र मल बनाउन संलग्न भारत घर भई झापा गाउँपालिका ३ बस्ने २९ बर्षीय नासिर मियालाई नियन्त्रण लिएको र इलाका प्रहरी कार्यालय सुरुङ्गा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य मानिसको समेत खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।