पूर्वाञ्चल दैनिक २७ बर्षमा प्रवेश
बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट २७औँ बर्षमा प्रवेश गरेको छ । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको हो ।
बिर्तामोड नगरपालिका १ मा मुख्य कार्यालय रहेको श्रीअन्तु प्रकाशन प्रालिले पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशन गर्दै आएको छ । पूर्वाञ्चल दैनिक २०५२ साल मंसीर १ गतेदेखि प्रकाशन शुरु भएको थियो ।
पत्रिका २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले विज्ञप्ति जारी गरी यो अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।
२७ वर्ष प्रवेशसँगै पत्रिकाले विभिन्न जातिको भाषा लिपिको संरक्षण र विकासमा टेवा पुर्याउन विभिन्न भाषामा सामग्री प्रकाशन गरिरहेको छ । प्रदेश १ मै पहिलोपटक पूर्वाञ्चल दैनिकले गत वर्षबाट किरात सिरीजङ्गा लिपिको सामग्री पाक्षिक रुपमा प्रकाशन गर्दै आएको छ । प्रदेश १ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रुपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै www.purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।
कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहँदा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठकको मन जित्न सफल भएको छ । पत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई सशक्त बनाउने उद्देश्यले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु तथा सूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्दै आएको प्रधानसम्पादक गिरीले बताए ।
यो अवसरमा हाम्रो तर्फबाट श्रीअन्तु प्रकाशन प्रा.लि.लाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।