पहिलो चौमासिकमा झापा ट्राफिकले उठायो ८० लाख राजश्व
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ८० लाख ९१ हजार ५०० रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा ११ हजार ७५० वटा सवारीसाधनलाई गरेको कारबाहीबाट उक्त राजश्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले सबैभन्दा बढी कात्तिक महिनामा २२ लाख ९८ हजार ५०० रुपैँया र सबैभन्दा कम साउनमा १७ लाख ५३ हजार ५०० रुपैँया संकलन गरेको कार्यालयका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए । खड्काका अनुसार सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल परेका थिए । यो अवधिमा ३ हजार ९९२ वटा मोटरसाइकललाई कारबाही गरिएको उनले बताए । उक्त कारबाहीबाट २९ लाख ४६ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
त्यस्तै सबैभन्दा कम कारबाहीमा बस परेको छ । यो अवधिमा ५६२ वटा बसलाई कारबाही गरिएको र ३ लाख ३९ हजार रुपैँया राजश्व संकलन भएको खड्काले बताए ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, लाइसेन्स बिना सवारी चलाउने, कागजात नविकरण नगर्ने, तीब्र गतिमा सवारी चलाउने, सवारीको यान्त्रिक अवस्था दुरुस्त नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।