संघीय लिम्बुवान मञ्च झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा नगेन्द्र राई
बिर्तामोड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । पार्टीको छैटौ जिल्ला अधिवेशनबाट नगेन्द्र राई अध्यक्षमा चयन भएका छन ।
बिर्तामोडस्थित सिपी होटलमा आज विहान ३ बजेसम्म चलेको बन्द सत्रबाट ६१ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ३६ जनालाई चयन गरेको निवर्तमान अध्यक्ष धनबहादुर पंधाकले जानकारी दिए । बाँकी सदस्यहरु मनोनित हुने उनले बताए । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अमित राई, उपाध्यक्षहरु राजा आङ्थुपो, वविता राई, नारायण तामाङ, प्रेम थेवे, करण योङहाङ र सचिवत्रय तीर्थराज पौडेल, विकास ठाडा मगर र कृष्णबहादुर सेन्दाङ चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय सचिवालय सदस्यमा निवर्तमान अध्यक्ष धनबहादुर पंधाक र केन्द्रीय सदस्यमा निवर्तमान उपाध्यक्षहरु ज्वाला इम्बुङ र राजकुमार फागोलाई पठाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय अध्यक्ष कुमार लिङ्देन -मिराक_ प्रमुख अतिथी रहेको खुल्ला सत्रमा केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, केन्द्रिय सचिवालय सदस्य भक्त मेयाङ्बो, जिल्ला इञ्चार्ज भानु भट्टराई, केन्द्रीय सचिव विष्णु भट्टराई, केन्द्रीय सदस्य दिलु लिङ्देन लावती, मञ्चका पाँचथर अध्यक्ष चन्द्रराज आङ्दम्बे, मोरङ अध्यक्ष जीवन खेवा, मञ्चका बिद्यार्थी नेता मोहन माबो, संघीय दलित मुक्ति मञ्चका बलराम सदा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्षमा नगेन्द्र राई, राजा आङ्थुपो, अमित खम्बु, ज्वाला राई र तिर्थ पौडेल गरी पाँच जना आकांक्षी भएका कारण नेतृत्व चयनमा राती अबेरसम्म समय लागेको नेताहरुको भनाई छ । १०+१ प्रान्तीय संरचनालाई अघिसारेको मञ्चले अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान घोषणाको माग गर्दै आएको छ । पार्टीले संघीय सामुदायीक समाजवाद, संघीय सहअस्तित्ववाद र चक्रीय अर्थतन्त्र प्रणालीलाई राजनीतिक दर्शनको रुपमा अंगिकार गरेको बताइएको छ ।