जन्मोत्सवको अवसरमा पत्रकार ढकालद्वारा सहयोग प्रदान
बिर्तामोड । आफ्नो जन्मदिनको अवसरमा झापाली पत्रकार नरेन्द्र ढकालले पत्रकार सहारा उपचार कोषलाई सहयोग गरेका छन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषमा ढकालले २५ हजार २५ रुपैयाँ प्रदान गरेका हुन ।
पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन । झापाली संञ्चारकर्मीहरुको उपचारका निम्ती स्थापित कोषमा रकम प्रदान गर्न पाउँदा पत्रकार ढकालले खुशी व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी, समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले रकम हस्तान्तरण गरे ।
पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताए ।
सञ्चारकर्मीसँगै अन्य दाताहरुले समेत यो कोषमा रकम सहयोग गर्दै आएका छन् । अक्षय कोषका रुपमा रहेको यो रकमको व्याजबाट पत्रकारहरु घाइते वा विरामी भएमा उपचार खर्च दिइँदै आएको छ ।