बजगाईंको ३८ वर्षे राजनीतिको बयान
बिर्तामोड । करिब दुई दशक लामो राजनीतिक जीवनमा लाभको पदमा सायदै बसेका र अवसर नपाएका कांग्रेस कार्यकर्ता हुन् – नारायण बजगाईं । बजगाईं नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत सोमबार हुने क्षेत्रीय अधिवेशनमा झापा क्षेत्र नम्बर ४ को सभापति पदका उम्मेदवार हुन ।
२०४० सालदेखि राजनीतिमा लागेका उनले प्रजातन्त्र पुनःस्थापना लगत्तै सतासीधाम गाविस वडा नम्बर ६ को वडाध्यक्ष हुने बाहेक केही अवसर नै पाएनन । २०४१ सालमा नेविसंघ सतासीधाम सभापति भएर कांग्रेस राजनीतिमा होमिएका बजगाईंको ३८ वर्ष पार्टी राजनीति मै बित्यो । २०४० सालमा आमा मनमाया बजगाईं बिरामी परेको बेला घरमा पुगेका कृष्णप्रसाद अधिकारी र ज्ञानबहादुर न्यौपानेले गरेको कुराबाट कांग्रेस बनेका बजगाईं डा. शेखर कोइरालालाई राजनीतिका गुरु मान्छन् । यद्यपि, उनी अधिकारी र न्यौपानेलाई बिर्सन चाहादैनन् । उनी भन्छन्, ‘उहाँले गरेको कुराले म कांग्रेस भएको हुँ, डाक्टर कोइरालाले कांग्रेस के हो थप स्पष्ट पार्ने काम गर्नु भएको हो । बजगाईं २०४० सालमा आमा बिरामी भएर उपचारका लागि विराटनगर गएका थिए। त्यही बेला उनको भेट कोइरालासँग भएको हो । जतिबेला डा। शेखर फिजिसियन हुनुहुन्थ्यो । आमालाई शेखरले उपचार गर्दैगर्दा नारायणलाई कट्टर कांग्रेस बनाइ सकेका थिए, नारायणले सुनाए –मलाई त्यसैबेला शेखर दाइले कांग्रेस बुझाउनु भएको हो, उहाँले आमालाई औषधि गरेर निको मात्रै पार्नु भएन, मलाई जीवनभर कांग्रेस हुने औषधि पनि दिनुभयो ।’
कांग्रेस झापाका पूर्वसभपाति सुधीरकुमार शिवाकोटी अनारमनी गाविस सभापति र वर्तमान सभापति उद्धब थापा अर्जुनधारा सचिव हुँदा नारायण सतासीधाम कांग्रेसको सभापति थिए । पञ्चायतकालमै सतासीधाम कांग्रेस सहसचिव, सचिव, उपसभापति बनेका उनले सतासीधाम कांग्रेसको दुई कार्यकाल सभापति बनेर संगठन निर्माणमा समय खर्चेका बजगाईं सिके प्रसाईंका प्रिय र पत्याएका कांग्रेस कार्यकर्ता हुन् । सिके प्रसाईंले उनलाई ‘नारायण भाइ’ भनेर बोलाउँथे । नारायणसँग सिके प्रसाईंसँग पनि निकट भएर काम गरेको अनुभव छ ।
सतासीधाम नेविसंघमा याम बुढाथोकीसँग काम गरेका बजगाईं जगदीश काफ्ले नेविसंघ झापा सभापति हुँदा उपसभापति थिए । जुनबेला पञ्चायतको फैलँदो दबदबा र पञ्चहरुको बिगबिगी थियोे । प्रजातन्त्र आएपछि नेविसंघ झापा सभापति विश्वप्रकाश शर्मा बने । कांग्रेस वर्तमान केन्द्रीय सदस्य सरिता प्रसाईं त्यसबेला नेविसंघ झापा उपसभापति थिइन् । बजगाईंसँग नेविसंघ झापाको उपसभापति बनेर काम गरेको अनुभव छ । चन्दवीर नेम्वाङ दुर्घटनामा परेपछि कार्यबाहक सभापति भएर काम गरेका उनले कहिल्यै नबिर्सने व्यक्तित्व हुन शिवकुमार योङ्या । योङ्या केदारनाथ बजगाईंका मिल्ने सहयात्री हुन् ।
स्व. बुबा केदारनाथको समाजसेवाकै कारण आफूलाई सामाजिक काम र राजनीतिमा लाग्न प्रेरणा मिलेको सुनाउने बजगाईंले राजनीतिलाई पनि समाजसेवाकै रूपमा बुझेका छन्,लिएका छन् । प्रजातन्त्र पुनस्थापनाको सशक्त आन्दोलन हुँदा २०४६ सालमा दुई महिना चन्दगढी जेलमा कारावास सजाय पाएका नारायण शाहीकालमा चार दिन चारआली क्याम्पमा सैनिक हिरासतमा यातना पाएका व्यक्ति हुन् । जुनबेला कांग्रेस नेता शिवाकोटी, थापा र दिपक तामाङलाई सेनाले चारआली बङ्करमा कोचेको थियोे । बजगाईं शाहीकालमा दुधे, झिलझिले क्षेत्रबाट त्यसबेला सेनाको यातना पाउने पहिलो व्यक्ति समेत हुन् बजगाईं ।
आफूलाई राजनीतिमा लागेर दुःख, यातना र अनेक सास्ती बेहोरेको कांग्रेस कार्यकर्ता भन्न रुचाउने बजगाईंले दुई कार्यकाल क्षेत्रीय सभापति बनेर पार्टी हाँकेका जयनारायण साहलाई पालो दिन आफू सभापतिमा उठेको बजगाईंले बताए । ‘उहाँको काँध पनि गल्यो होला, गल्नु पनि स्वभाविक नै हो,’ बजगाईंले भने, ‘यो सोच बनाउनु र नेतृत्वलाई पालो दिनु एकजना वफादार कार्यकर्ताको जिम्मेवारी,दायित्व,कर्तव्य हो त्यही भएर सभापतिमा उम्मेदवारी दर्ता गराउँदै छु ।’ भोलि हुने क्षेत्रीय समितिको नेतृत्व छनोटका लागि आज मनोनयन दर्ता गरिँदै छ। बजगाईं त्यही तयारीमा रहेको सुनाए। उसबेला चारतारे क्लब खोलेर कांग्रेसलाई चिनाउन कृषि कर्म गरेका नारायण राजनीति सँगसँगै सामाजिक काम र समाजसेवामा क्रियाशील छन् ।
बजगाईं २०४९ सालदेखि स्थानीय सहिद भीमनारायण आधारभूत विद्यालय व्यवस्थापन समितिको जिम्मेवारीमा छ्न्। उनले दुधे बहुमुखी क्याम्पको उपाध्यक्ष, दुधेमा प्लसटु सञ्चालन, राष्ट्रिय माविको व्यवस्थापन समिति सदस्य,सतासी सामुदायिक सेवा केन्द्रको अध्यक्ष लगायतका संघसंस्थामा बसेर काम गरेका र नेतृत्व दिएका बजगाईं सहकारीकर्मी समेत हुन् । सतासी खुद्रा साकोसको अध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका बजगाईंले राजनीतिलाई पनि सहकार्य गर्ने क्षेत्र भनेर बुझेका छन् । ‘सहकार्य गर्नकै लागि सभापतिमा उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘राजनीतिमा सहकार्य जरुरी छ, मलाई मत दिएर सहकार्यको अभियान पूरा गर्न साथीहरू लामबद्ध हुनुहुन्छ ।’