शिवु मुर्मुको ‘सन्थाली वर्णमाला’ लोकार्पण
बिर्तामोड । सन्थाली भाषाको वर्णमाला (ओल चिकी) ‘सन्थाली वर्णमाला’ लोकार्पण गरिएको छ । आइतबार बिर्तामोडमा एक कार्यक्रमका बिच पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पुस्तकको बिमोचन गरेका हुन ।
सन्थाली भाषाको लिपी पढ्न र जान्न चाहनेहरुका लागि सहज होस भन्ने उद्देश्यले शैक्षिक पुस्तकको रुपमा सन्थाली वर्णमाला लेखिएको शिवु मुर्मुले जानकारी दिए । सन्थाली ओल चिकीको माध्यमबाट लेख्दा सन्थाली भाषाको शुद्ध उच्चारण गर्न सकिने उनले बताए । ओल चिकीमा स्वर वर्ण ६ ओटा, ब्यन्जन वर्ण २४ वटा र बिशेषक चिन्ह ५ वटा गरि ३५ वटा वर्ण हुने लेखक मुर्मुले जानकारी दिए । भारतको उडिसा राज्यको मयुरवनका पण्डित रघुनाथ मुर्मुले ओल चिकी लिपीको शुरु गरेको बताउँदै आफुले अग्रज र अनलाइनको माध्यमबाट यो लिपि सिकेको मुर्मुको भनाई छ । आदर्श सामुदायिक क्याम्पसमा स्नातक तहमा अध्ययनरत शिवु मुर्मुको यो पुस्तक दोस्रो संस्करण हो ।
२०६५ सालमा फिनल्यान्डको सहयोगमा हल्दिबारी २ झापामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा सन्थाली भाषाको पढाइ भएको तर पाठ्यपुस्तक अभावमा पछि बन्द भएको तत्कालिन बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लखन हेमरमले जानकारी दिए । सन्थाली भाषा पढ्न ४६ जना विद्यार्थी भएको तर कक्षा ३ को पाठ्यपुस्तक सरकारले प्रकाशन गर्न नसक्दा पढाइ नै बन्द गर्नु परेको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले लोपोन्मुख भाषाको लिपि तयार गर्नु आफैमा कोशेढुङ्गा भएको बताए । सन्थाल समुदाय स्वभिमानी र प्रकृतिप्रेमी भएको बताउँदै पोखरेलले सन्थाल समुदायको प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै अतिथीहरु प्रतिनिधी सभा सदस्य धर्मशिला चापागाईं, संविधान सभा सदस्य मोहन टुडु, नेकपा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार सम्पाङ (विजय) लगायतले सबै जातजाति, धर्म, भाषा आदिको संरक्षण र सम्बर्धनका लागि मुलुक संघीयतामा गएको स्मरण गर्दै पुस्तकका लेखक शिवु मुर्मुको यो योगदानको कदर गर्दै वधाई तथा शुभकामना व्यक्त गरे ।
पूर्वको झापा, मोरङ र सुनसरीमा सन्थालहरुको बढी बसोबास रहेको र जनगणना २०६८ का अनुसार सन्थाल समुदायको संख्या ५१ हजार ७३५ रहेको छ ।