२०८३ बैशाख ६ गते , आईतबार

राजनीतिमा युवा पुस्ताको खाँचो औँल्याउँदै नेका झापा सचिवका उम्मेदवार नविन विमली

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ८ गते , बुधबार
राजनीतिमा युवा पुस्ताको खाँचो औँल्याउँदै नेका झापा सचिवका उम्मेदवार नविन विमली

अवकासको समयमा पनि नेताहरु युवा नेताको बिल्ला भिरेर राजनीतिमा सक्रिय रहेको बेला साँच्चै उमेरले युवाहरु नेतृत्व तर्फ अग्रसर बनिरहेका छन् । चुनाव नजिकिएसँगै सबै दलको महाधिवेशन चलिरहेको छ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदो छ । राजनीतिक दृष्टिकोणले महत्वका साथ हेरिने झापाको कांग्रेस पदाधिकारीमा नवीन विमली नयाँ दृष्टिकोणका साथ अगाडी बढेको बताउँछन । 

राजनीतिमा युवाहरुको आकर्षण कम रहेको बेला देशका खम्बाको रुपमा रहने युवाहरुलाई सहभागी गराई समृद्ध राष्ट्र निर्माणमा लाग्ने योजनका साथ आफू अघि बढेको उनको भनाई छ ।  जोश, जाँगर एवम् रचनात्मक सोचका साथ हरदम केही नयाँ र केही फरक काम गरौं भन्ने हुट्हुटी उनमा छ । समाज र राष्ट्रहितका लागि निरन्तर पहल गर्न उद्यत युवा वर्ग नै वस्तुतः राजनीतिका अभियन्ता बन्नुपर्ने समयको माग र आजका दिनमा युवा वर्ग नै नेपाली राजनीतिका विश्वस्त अभियन्ता बन्न सक्छन् भन्ने मान्यता विमलीमा रहेको छ ।

आफूलाई विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा प्रवेश गराएको बताउने विमली २०५७ सालमा १८ वर्षको उमेरमै मेची बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघको इकाई सदस्य भएका थिए । त्यसपछि नेविसंघको सहसचिव, सचिव, सभापति हुँदै क्षेत्रीय सचिव र सभापति, झापा जिल्ला सचिव र ५ वर्ष जिल्ला सभापति रहेर निरन्तर नेतृत्व क्षमतामा आफूलाई अब्बल सावित गरिसकेका छन् विमलीले ।

त्यसयता २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी पटकपटक पक्राउ परे । जस्तोसुकै असहज परिस्थितिमा पनि निडर भएर राजनीतिक मोर्चामा डट्नु उनको हक्की स्वभावको परिचय बनेको छ । आजसम्मको त्यही निरन्तरता, सहभागिता र संघर्षले उनको छवि निर्माण गरेको छ । राजनीतिक संघर्षबाट पछि नहट्ने र त्यसलाई परिणाममुखी बनाउन लागिपर्ने उनको हक्की स्वभावले जिल्लाको कांग्रेस राजनीतिमा उनलाई आफ्नै पहिचान स्थापित गरिरहेको छ ।

यही मंसीर ६ गते सम्पन्न नेकांको महाधिवेशन प्रतिनिधि समेतमा निर्वाचित नवीन भन्छन् ‘मेरो अबको लक्ष्य भनेको पार्टीको जिल्ला सचिवमा उम्मेदवार बन्ने हो ।

राजनीतिक यात्रामा आफ्ना कुरा स्पष्ट, दृढतापूर्वक र परिपक्व ढंगले राख्ने उनी राजनीतिमा अक्सर देखिने लप्पनछप्पन, चाप्लुसी र अर्काको बद्ख्वाइँ गरेर आफू मपाईं बन्न खोज्ने शैली विरुद्ध उनको स्वभाव छ । उनले आफू अहिलेसम्म आफ्नै बलबुतामा संघर्षमा होमिएरै यहाँसम्मको राजनीतिक यात्रा तय गरिरहेका छन् ।

अबका दिनमा आफ्नो लक्ष्य महामानव नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको राजनीतिक दर्शनलाई मूलमन्त्र मानेर व्यावहारिक राजनीतिमा जोडिने रहेको बताउने युवा राजनीतिकर्मी नवीन ‘पार्टीमा पुरानो पुस्ताको योगदान र अनुभवलाई मार्गदर्शन मानेर नयाँ पुस्तालाई राजनीतिमा युगसापेक्ष रूपान्तरणमा सरिक गराउन दत्तचित्त हुने सोचमा आफू रहेको बताउँछन् ।

सम्बन्धित समाचार