अर्जुनधारा मन्दिरमा शतबीज छर्नेको घुइँचो
बिर्तामोड । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्वका लागि झापाको अर्जुनधारास्थित जलेश्वर धाममा दर्शनार्थीको घुइँचो लागेको छ । त्रयोदशीको दिन बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले शुक्रबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका छन ।
बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न सयौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । बिहीबार रातभर दीपदान गरी बसेका भक्तजनले शुक्रबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पूर्वको पशुपतिको रुपमा लिइने यस मन्दिरमा आउने गर्दछन । यसरी आएका श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि जलेश्वर क्षेत्रमा भिड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानका साथै भारतबाट आएका भक्तजनको जलेश्गर मन्दिरमा भीड लागेको थियो ।