एमालेको चितवन भेला गुटबन्दी बलियो बनाउनका लागि : प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको चितवन भेला गुटबन्दीलाई बलियो बनाउँदै प्रतिक्रान्तिलाई सशक्त बनाउनका लागि भएको आरोप लगाएका छन । चितवनको भरतपुरमा शनिबारबाट शुरु भएको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले कुम्भमेला नभई त्यो भेला पञ्चर्याली जस्तो भएको बताए ।
प्रतिगमनको आरोप खेपेका केपी ओलीको नेतृत्वमा चितवनको नारायणी किनारमा सम्पन्न एमालेको महाधिवेशनमा लाखौं कार्यकर्ता उतारेको थियो । सो भेलालाई एमालेले ‘कुम्भमेला’ भनेको थियो । तर प्रचण्डले भने त्यसलाई ‘पञ्चर्याली’ को संज्ञा दिए। ‘पञ्चायतको अन्त्यतिर २०४५ सालमा पञ्चहरुको ठूलाठूला र्याली निकाल्थे, उनीहरु पञ्चायतबाहेक अन्ततिर जनता लागेकै छैनन् झैं देखाउन खोज्थे, चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ’, उनले भने ।
उनले पैसा दिएर, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भ मेलाको कुनै राजनीति अर्थ नहुने उनले टिप्पणी गरे । बरु उनले त्यसलाई मण्डलेकरणको संज्ञासमेत दिए ।
अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा पूरै टरिनसकेको बताए । अहिलेपनि प्रतिगमनको प्रयास भइरहेको उनले बताए । देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिक लोकतन्त्रलाई सुदृढ गर्दै समाजवादमा जाने पक्ष र त्यसलाई रोकेर प्रतिगमनतर्फ जाने भन्ने दुई उद्देश्यबीच संघर्ष चलिरहेको बताए ।
‘जेजति उपलब्धि छन् त्यसलाई उल्टाउने र सुदृढ पार्दै समाजवादमा जाने भन्ने दुई उद्देश्य देखिएको छ, त्यसैले प्रतिगमन रोक्नका लागि प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्छ’, उनले भने । उनले प्रतिगमनकारीहरुले गठबन्धनलाई प्रयोग गर्न सकिन्छ कि भनेर बेलाबेला प्रयास गरिरहेको बताए ।
अध्यक्ष प्रचण्डले मंसिर २८ गतेबाट बोलाइएको प्रतिनिधि सभाको अधिवेशन नियमित अधिवेशन मात्र भएको बताए । अधिवेशन आह्वान भएलगत्तै केही मानिसहरुले एमसिसी पास गर्न हो कि< प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन हो कि भनेर आशंका गरिरहेको भन्दै उनले भने,‘यो नियमित अधिवेशन हो, यो कुनै प्रयोजनका लागि बोलाइएको अधिवेशन होइन ।’ उनले एमसिसी पास गर्दा होस वा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय होस दुबै विषय दलहरुबीचमा राष्ट्रिय सहमति जुटाएर मात्र हुने बताए ।‘महाअभियोग लगाउने कुरा वा नलगाउने कुरा दलहरुबीचको सहमतिमै हुन्छ, यो जबरजस्ती हुने कुरा होइन’, उनले भने।
अध्यक्ष प्रचण्डले पहिले केपी ओलीलाई दिनदिनै भेटेको भन्दा अहिले आफू शक्तिशाली भएको बताए । उनले चितवन अहिले सबैको आकर्षणको केन्द्र बनेको भन्दै यसमा तीन कारण रहेको बताए। उनले भने,‘पहिलो यो देशकै केन्द्र भागमा छ, सस्तो र राम्रो पनि छ, दोश्रो चितवन अहिले विकासको नयाँ मोडलमा गएको छ र तेश्रो चितवनमा प्रचण्ड छ, त्यसैले यो आकर्षणको केन्द्र भएको छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले प्रेस स्वतन्त्रताको पक्षमा सबै मिलेर आवाज उठाउनुपर्ने बताए ।
पत्रकार ओम शर्माले प्रतिगमनलाई परास्त गर्ने हतियार प्रेस सेन्टर भएको बताए । उनले समाजवाद नआएसम्म लडिरहने बताए ।
अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले माओवादी र त्यसका अध्यक्ष प्रचण्ड आगो भएको बताउँदै आगोसँग नखेल्न प्रतिगमनकारीलाई चेतावनी दिईन्। उनले अब पार्टीलाई रुपान्तरण गर्न, पुनर्जिवित गर्न पार्टीको नीति अनुसारको थिति बसाल्नुपर्ने बताईन । अनेम संघ क्रान्तिकारीकी अध्यक्ष अम्रिता थापा मगरले प्रतिगमनकारीहरुले भ्रमको खेती गरिरहेको बताउँदै त्यसलाई चिर्न चेतनाको सम्वाहक प्रेस सेन्टर बन्नुपर्ने बताईन् ।
महाधिवेशनमा देशभरबाट ८ सय जना पत्रकार सहभागी छन् । आइतबारसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।