दुर्गाप्रसादलाई ८ लाख क्षतिपूर्ति दिन अदालतको आदेश
इलाम । भारतीय जेलमा बिना सुनुवाई ४० वर्षसम्म राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन अदालतले आदेश दिएको छ । कलकत्ताको उच्च अदालतले त्यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई पाँच लाख (आठ लाख नेपाली रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो । अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न भनेको उनका पक्षमा वकालत गर्दै आएका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए ।
तिम्सिनालाई जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए ।
पश्चिम बंगालस्थित एक चिया बगानमा कामगर्दै गरेको अवस्थामा हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो । बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएसँगै उनी नेपाल ल्याइएका थिए ।
चार दशक लामो जेल जीवन बिताएका तिम्सिनाको मानसिक स्वास्थ्यमा समस्या छ । उनको घरमा आर्थिक अवस्था समेत कमजोर छ । परिवार र समाजसँग घुलमिल हुन उनलाई समस्या भएपछि केही महिनाअघि उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको उनका भतिजा गोपाल तिम्सिनाले जानकारी दिए ।