नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजबाट शुरुहुँदै
बिर्तामोड । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार महाधिवेशनको उद्घाटन हुने पार्टीले जनाएको छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ, शुक्रबार १ बजे हामी १४औँ महाधिवेशनको उद्घाटन गर्दैछौँ,’ उनले भने ।
महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट करिब ४४ सय महाधिवेशन प्रतिनिधिहरू काठमाडौं पुगेका छन् । ‘देशभरिका करिब ४४ सय प्रतिनिधिहरू काठमाडौं आइपुग्नुभएको छ । देशैभरिका नेता कार्यकर्ताको उपस्थिति छ,’ प्रवक्ता शर्माले भने ।
महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न चाहने नेताहरूले आफ्नो उम्मेदवारीबारे प्रचार प्रसार र भोट माग्नेक्रम पनि सुरू भइसकेको छ । प्रवक्ता शर्माले महामारी फैलिने खतरा कायम रहेकाले महाधिवेशन स्थलमा आउँदा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको बताए ।
‘हामी बाध्यात्मक परिस्थितिमा थियौँ, नभए यो भीड जम्मा भएर बस्न मिल्ने बेला होइन । त्यसैले हामीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आउन आग्रह गरेका छौँ,’ उनले भने, ‘हामीले महाधिवेशनको सन्दर्भमा ठूलो भीड प्रदर्शन गर्ने कुनै तयारी छैन ।’
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ भने २७ गते मतदान हुनेछ