पालिकाले निर्धारण गरेको टेम्पो भाडादर छाता संगठनलाई जानकारी छैन: अध्यक्ष तामाङ
बिर्तामोड । बिर्तामोड नगरपालिकाले निर्धारण गरेको अटो/टेम्पोको भाडादरको बिषयमा जानकारी नभएको संयुक्त अटो प्रा.लि. छाता संगठनले जनाएको छ । संगठनका अध्यक्ष गोविन्द तामाङले पालिकाले बिर्तामोड क्षेत्रभित्रका लागि निर्धारण गरेको भाडादरको बिषयमा औपचारिक जानकारी नआएकोे बताएका हुन् ।
अध्यक्ष तामाङले भाडादर कायम गर्नका लागि ५/६ महिना पहिलेदेखि नै पहल गर्दै आएको बताए । उनका अनुसार संगठनले भाडादर प्रस्ताव गरेर जिल्ला समन्वय समिति झापामा पत्र दिएको र समन्वय समितिले स्थानीय तहलाई नै सो अधिकार भएको भन्दै त्यसका लागि सहजीकरण गरेको थियो । तर, बिर्तामोड नगरपालिकाले निर्धारण गरेको भाडादरको बिषयमा कुनै औपचारिक जानकारी नगरपालिकाले नगराएको उनले बताए । ‘भाडादर कायम भएको भन्ने हामीले सामाजिक सञ्जालमार्फत थाहा पायौँ’, उनले भने, ‘तर हामीलाई कार्यपालिकाले निर्धारण गरेको भाडादरको बिषयमा कुनै औपचारिक जानकारी प्राप्त भएको छैन ।’
पालिकाले निर्धारण गरेको भाडादर सामान्य फेरबदल बाहेक संगठनले प्रस्ताव गरेको अनुसार नै भएकोले औपचारिक जानकारी आएपश्चात संगठनले कार्यान्वयन गर्ने अध्यक्ष तामाङको भनाई छ । केहि स्थानहरुको भाडादर कायम रहेको भन्दा केहि कम निर्धारण भएकाले अटो चालकहरुको गुनासो आएको उनले बताए ।
बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालन हुने अटो÷टेम्पोको भाडादर कायम गर्न कार्यपालिका सदस्य निता घतानीको संयोजकत्वमा एक सिफारिस समिति गठन गरेको थियो । समितिको सिफारिस अनुसार नगर कार्यपालिकाको बैठकले दुई किलोमिटर भित्रका लागि ३० रुपैँया र सो भन्दा माथि प्रतिकिलोमिटर रु. १० थप हुँदै जाने गरी भाडादर कायम गरेको थियो । भाडादर मुक्तिचोकलाई केन्द्रबिन्दु मानेर निर्धारण गरिएको छ ।
यता संगठनका अध्यक्ष तामाङले पालिकाले निर्धारण गरे अनुसार दुई किलोमिटर माथि प्रति किलोमिटर १० रुपैँयाले कच्ची सडकमा फाइदा नहुने भएकाले लागू गर्न नसकिने परिवेश मिडियासँग बताए ।
पूर्वेली अटो प्रा.लि.का अध्यक्ष हरी बास्कोटाले पालिकाले निर्धारण गरेको दुई किलोमिटर क्षेत्रभित्रको ३० रुपैँया महङ्गो भएको सर्वसाधारणबाट गुनासो आएको बताए । अटो/टेम्पो छोटो दुरीमा चलाइने भएकाले चढ्ने बित्तिकै ३० रुपैँया बढी भाडा भएको भन्दै मानिसहरुले गुनासो गरेको र व्यवसायीहरु साविक कायम रहेको केहि ठाउँको भाडादर कम निर्धारण भएको भन्दै आक्रोस व्यक्त गरेको बास्कोटाले सुनाए । पहिलेको तुलानामा अहिले सडकको स्तर राम्रो भएकाले पालिकाले निर्धारण गरेको भाडादरले घाटा नहुने बास्कोटाले जानकारी दिए ।
भाडादर निर्धारण हुँदा यात्रु ठगिने समस्या कम हुनुका साथै यात्रु र चालकबिच विवाद नहुने बास्कोटाको धारणा छ । तोकिएको भाडाभन्दा बढि कसैले लिएमा प्रशासनले कारवाही गर्नसक्ने संगठनका अध्यक्ष तामाङले बताए । यात्रु नठगिउन भनेर सबै अटो/टेम्पोमा भाडादर टाँस्ने र कुनै गुनासो भए सम्पर्क गर्ने नम्बर समेत राखिने उनले बताए ।
लामो समयदेखि शुरुवाती चरणकै भाडामा कुदिरहेका व्यवसायीले इन्धन र खाद्य सामग्रीको मुल्यवृद्धि भएका कारण भाडावृद्धिको माग गरेका थिए । पुरानो भाडालाई अध्ययन गरेर भाडावृद्धि गर्ने सन्दर्भमा बनाइएको सिफारिस समितिले कार्यपालिकालाई नयाँ दर सिफारिस थियो । सोहि बमोजिम मंसिर १६ गतेको बिर्तामोड कार्यपालिका बैठकले भाडादर निर्धारण गरेको हो ।