पहिचानकै आधारमा प्रदेशको नामाकरण गर्न पहल भइरहेको छ : मुख्यमन्त्री राई
धरान । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण पहिचानकै आधारमा गर्न पहल भइरहेको बताएका छन् । उनले आफू एक्लो भएपनि पहिचानको पक्षमै दृढ रहने पनि बताए ।
किराँत राई यायोक्खाको धरानमा आयोजित सुनसरीको नवौ अधिवेशन उद्घाटन समारोहमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने अधिकांशले प्रदेश १ को नामाकरण पहिचानको आधारमा किराँत प्रदेश हुनुपर्ने माग गरेका थिए ।
मुख्यमन्त्री राईले किराँतीहरूको पहिचान र सभ्यता बोकेको थलोको रूपमा रहेको प्रदेश १ को नामाकरण पहिचानकै आधारमा हुने भन्दै ढुक्क हुन आग्रह गरेका थिए । ‘प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने पक्षमा आफू पहिलेदेखि नै रहेको तर केही राजनीतिक दल पहिचानको पक्षमा रहेका छैनन्,’ राईले भने, ‘म एक्लै भए पनि पहिचानको पक्षमा रहेकोले पाँच दलीय गठबन्धनसँग निरन्तर छलफल र संवादमा जुटेका छौं ।’ सहमतिका लागि आफू प्रयासरत रहेको पनि उनले दाबी गरे । सहमतिकै प्रयासका लागि नामाकरण गर्न ढिलो भएको उनको स्वीकारोक्ति थियो ।
कार्यक्रममा मुख्यमन्त्री राईसहित उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव राई, नेपाल टेलिभिजनको इटहरी प्रमुख पुष्पहरि क्याम्पा राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र धुर्पिमाया राईलगायतलाई सम्मान गरिएको थियो ।