२०८३ आश्विन १६ गते , शुक्रबार

१२,५५६ जना शिक्षकको मंसिर भित्रै विज्ञापन खोल्ने तयारी

आवदेन अनलाइनबाट भर्न मिल्ने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २७ गते , सोमबार
१२,५५६ जना शिक्षकको मंसिर भित्रै विज्ञापन खोल्ने तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले मंसिर महिना भित्रै विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर भित्र अनलाइन आवेदन दिन मिल्ने गरी खोल्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

आयोगले खुलातर्फ माध्यमिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यामिक तहमा एक हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खुलाउने तयारी गरेको छ ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले अनलाइन आवेदनको लागि तयार गरिएको सफ्टवेयर परीक्षण भइरहेको  जानकारी दिए । उनले भने ‘हामी अनलाइन आवेदनको लागि तयारी गरेको सफ्टवेयरको परीक्षण गरिरहेका छौं । कार्यतालिकाभित्रै रहेर विज्ञापन खोल्छौं ।’

आधुनिक प्रविधिको प्रयोगसँगै सबैका लागि सहज बनाउने उद्देश्यले अनलाइन विज्ञापन खोल्ने तयारी गरेको अध्यक्ष रेग्मीको भनाइ छ ।

आयोगको कार्यतालिका अनुसार खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यसपछि भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगले बताएको छ । प्राथमिक तहका शिक्षकको सिफारिस भने कात्तिकमा हुनेछ । यस अनुसार आगामी शैक्षिक वर्षको मध्यमा नयाँ शिक्षकहरु कक्षाकोठामा पुग्नेछन् ।

सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।

सम्बन्धित समाचार