संसदको हिउँदे अधिवेशनमा एमालेको अवरोध, अर्को बैठक पुष ६ गते
काठमाण्डौ । आज मङ्गलवारदेखि सुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनमा एमालेका सांसदले अवरोध गरेका छन् । पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।
एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् ।
तर सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्धन नबनाउन आग्रह गरेका छन् ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गरे ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीका तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेस गर्नुभयो । त्यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले बैठकमा पेस गरे ।
प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्नेछ ।