कांग्रेस महामन्त्रीमा युवा नेताद्वय शर्मा र थापा विजयी
बिर्तामोड । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा महामन्त्री पदमा युवा नेताहरु विश्वप्रकाश शर्मा र गगन थापा विजयी भएका छन् । शर्माले १९८४ र थापाले ३०३२ मत प्राप्न गरे ।
महामन्त्रीका उम्मेदवारहरु मध्ये गगन थापाले प्राप्त गरेको मत लोकप्रिय मत हो । खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत प्राप्त गर्न सफल भए । थापा शेखर कोइराला र शर्मा सिंहको प्यानलबाट चुनाव लडेका थिए ।
पराजित उम्मेदवारहरू प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे ।
पार्टीका प्रवक्ता समेत रहेका झापाका युवा नेता विश्वप्रकाश शर्मा देउवा टीमबाट महामन्त्रीमा नअटाएपछि प्रकाशमान सिंहको टीमबाट उम्मेदवारी दिएका थिए । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँगको अन्तरद्वन्दका कारण शर्माले देउवा टीममा स्थान नपाएको चर्चा चलेको थियो । आफ्नै झापाली नेता सिटौलाको अनेक प्रयासका बाबजुद शर्मा अन्ततः महामन्त्रीमा विजयी बनेका छन् ।