माओवादी केन्द्र प्रदेश १ को सचिवमा नेता कडरियाको दाबी
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ को सचिवमा झापाली युवा नेता सिपी कडरियाले आफ्नो दाबी पेश गरेका छन् ।
परिवेशसँगको कुराकानीमा नेता कडरियाले प्रदेश सचिवको आफू बलियो उम्मेदवार रहेको बताए । अध्यक्षको दावी गरिरहेका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो र हर्कबहादुर नेम्बाङसँगै आफुपनि पार्टीको क्षेत्रीय व्युरो सदस्य भएको बताउँदै कडरियाले सचिव पदका लागि अन्य आकांक्षीभन्दा आफु बलियो उम्मेदवार भएको दाबी पेश गर्छन् । सशस्त्र संघर्ष कै क्रममा कडरिया २०६० सालमा नेकपा माओवादीको इलाम सेक्रेटरी भएका थिए । २०६१ सालमा पार्टीको क्षेत्रीय व्युरो सदस्य भएका उनी पार्टीभित्र उदियमान प्रतिभाशाली युवा नेताको रुपमा परिचित छन् । कडरिया राजनीतिसँगै सामाजिक र व्यवसायीक रुपमा स्थापित सफल व्यक्तित्व हुन् ।
पदाधिकारी चयनका लागि गठित कार्यदलले सार्थक सहमतिबाटै पदाधिकारी टुङ्गो लगाउनेमा कडरिया विश्वास छन् । तर, सहमतिबाट पदाधिकारीको चयन हुन नसके अन्तिम विकल्पको रुपमा प्रक्रियासम्म जान पार्टीले रोक्न नहुने उनको धारणा छ । सहमतिबाटै पदाधिकारी चयन हुनुपर्ने बताउँदै कडरियाले यदि त्यसो नभए चुनावसम्म जान आफू तयार रहेको बताए । पार्टीको विचार र भूगोल राम्रोसँग बुझेका कडरिया सचिवमा आफ्नो जित निश्चित हुनेमा विश्वस्त देखिन्छन् ।
प्रदेश समितिको सचिवमा मोरङका गणेश उप्रेतीले पनि दाबी पेश गरेका छन् ।
नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन भएको छ । उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ ।
माओवादीको २ सय ७१ सदस्यीय प्रदेश समितिले ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ । माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी रहने छन् ।