सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम हुने
बिर्तामोड । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन प्रदेशभर साताव्यापी ट्राफिक सप्ताह कार्यक्रम हुने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुको संयोजनमा कार्यक्रम हुन लागेको हो ।
प्रदेशव्यापी कार्यक्रम अन्तर्गत झापामा पनि पुस ४ गतेबाट ट्राफिक सप्ताह कार्यक्रम हुन लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निषेश चापागाईँले जानकारी दिए । कार्यक्रम पुष १० गतेसम्म सञ्चालन हुने उनले बताए । कार्यक्रम अन्तर्गत पुष ४ गते आइतबार प्रभातफेरी र्यालीसहित कार्यक्रम उद्घाटन हुनेछ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अन्तर्गतका १८ वटै पोष्टमार्फत ट्राफिक सचेतनासम्बन्धि करिब ५ हजार थान पर्चा वितरण गर्ने, प्रमुख चोकहरुमा विद्यार्थी तथा स्काउट स्वयम्सेवक र ट्राफिक प्रहरीको सहभागितामा सडक प्रयोगकर्तालाई सडक पार गर्न सिकाउने, चालकहरुलाई गल्ती औँल्याउने तथा सम्झाउने कार्य हुनेछ ।
मंगलबार स्थानीय तह, सरोकारवाला संघ संस्थाहरुसँग समन्वय गरी प्रमुख लोकमार्ग, सहायक मार्गहरु तथा फुटपाथमा हुने अव्यवस्थित पार्किङ तथा अस्थाई टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामाग्री, निर्माण सामाग्री हटाउने कार्यक्रम रहेको प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।
त्यस्तै वुधबार स्कुल कलेजका भाडाका सवारीहरुको अनुगमन तथा कागजात, ओभरटेक सम्बन्धि प्रशिक्षण तथा सार्वजनिक तथा नीजि सवारी चालकहरुलाई सडकमै भेला गरी सचेतनामुलक प्रशिक्षण दिने लगायत कार्यक्रम रहेको छ । कार्यक्रम अवधिभर विद्यालय तथा कलेजहरुसँग समन्वय गरी ट्राफिक सचेतना प्रशिक्षण गर्ने, यात्रु क्षमता, भाडा दर लगायत जाँच गर्ने तथा कार्यान्वयनमा कडाई गर्ने, अस्पतालहरुसँग समन्वय गरी स्वास्थ्य परीक्षण गर्ने, सवारी साधनको मेकानिकल जाँच गर्ने, नागरिक समाज, स्थानीय सराृकारवाला निकाय लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरी ट्राफिक सप्ताहको समिक्षा सहित कार्यक्रम समापन गर्ने कार्य तालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका नायव निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न ट्राफिक कार्यालयले उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थाहरुसँग छलफल सम्पन्न गरेको शुक्रबार सञ्चारकर्मी भेटघाटमा जानकारी दिइयो ।