‘इलाम सामुदायिक आँखा अस्पताल’ को सेवा प्रारम्भ
इलाम । जिल्लामा पहिलो पटक आँखा अस्पताल सञ्चालनमा आएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक आँखा अस्पतालको बुधबार उद्घाटन भएसँगै सेवा प्रारम्भ भएको हो ।
इलाम नगरपालिकाले ५७ लाख ९० हजार रुपैँयामा अस्पताल निर्माण गरी सञ्चालमा ल्याएको हो । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ ।
निर्माण शुरु भएको आठ महिना मै अस्पतालको सेवा शुरु भएको हो । अस्पताल निर्माणको लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालु आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकम मध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् ।
नगरपालिकाले सिहबाहिनी खोल्सालाई ब्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालको भवन निर्माण गरेको छ । सामुदायिक आँखा अस्पतालको लागि हाल छ कोठा भएको एकतले भवन निर्माण गरिएको छ ।
नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको छ । कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठन हुने ब्यवस्था गरेको छ । सोही कार्यविधिकै आधारमा अस्पतालमा आवश्यक जनशक्ति ब्यवस्थापन गरिएको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष शुसिला नेम्बाङले जानकारी दिइन् । ‘इलाममा आँखा अस्पताल टिकाउन निकै चुनौती छ,’ उपप्रमुख नेम्वाङले भनिन्, ‘हामी बढी कसरत गरेर भएपनि गुणस्तरीय सेवा दिने पक्षमा छौ ।’
सामुदायिक आँखा अस्पतालमा अहिले शल्याक्रिया बाहेकको सेवा उपलब्ध हुने बताइएको छ । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइनेछ । सामुदायिक आँखा अस्पतालमा सातौं तहको एक जना नेत्र विषेशज्ञ, पाँचौ तहको एक जना नेत्र सहायक, एक जना फार्मेसिष्ट र एक जना चस्मा बनाउने प्राविधीक कार्यरत छन् । सामुदायिक आँखा अस्पतालले अहिले विर्तामोड आँखा अस्पतालसँग सहकार्य गर्ने भएको छ । आँखा अस्पतालको सहकार्यमा समय समयमा शल्यक्रियाको समेत सुविधा दिइने नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘शल्यक्रिया गर्नुपर्ने बिरामीको स्क्रिनिङ्ग गरेर निश्चित समयमा यहीँ शल्यक्रिया पनि गराउनेगरी साझेदारी भएको छ,’ प्रमुख बस्नेतले भने, ‘शल्यक्रियाको लागि चाहिने औजार उपकरण पनि हामीले खरिद नगरेसम्म उहाँहरुले नै ब्यवस्था गर्नुहुन्छ ।’