बिर्तामोडलाई हराउँदै दमक रोयल स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश
बिर्तामोड । बिर्तामोडको डोमालाल रंगशालामा आजबाट शुरु भएको तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई हराउँदै दमकको रोयल स्पोर्टिङ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
पाहुना टोली रोयल स्पोर्टिङ क्लब दमकले आयोजक बिर्तामोडलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
गोलरहित बराबरीमा खेल टुङ्गिएपछि भएको टाइब्रेकरमा दमककी गोलरक्षक सजिया क्षेत्रीले बिर्तामोडका २ वटा प्रहार रोकेकी थिइन् । उनले बिर्तामोडकी अनु राई र सुनकला राईको प्रहार रोकेकी हुन् ।
बिर्तामोडका लागि कप्तान खुस्मा राई र सुनिता घलानको प्रहारमात्र गोलमा परिणत भएको थियो भने दमककी छत्रिका चौधरी, सन्जु राई, इमा चम्लागाई र ममता राउतको प्रहार गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा दुई टोलीले सामान्य खेल खेले पनि दोस्रो हाफमा आयोजक केही आक्रामक देखिएको थियो ।
भर्खरै बंगलादेशमा सम्पन्न यु १९ साफ महिला फुटबल खेलेकी कुसुम खतिवडा खासै चल्न नसक्दा आयोजकले गोल गर्ने अवसर गुमायो । खेलको १०औँ मिनेटमा कुसुमको क्रस दमककी गोलरक्षक सजिया क्षेत्रीले बचाइन् ।
त्यस्तै, खेलको १५ औँ मिनेटमा दमककी पार्वती राईको प्रहार बिर्तामोडकी गोलरक्षक झरना नगरकोटीले सेभ गरिन् । ३९औँ मिनेटमा दमककी ममता राउतको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो ।
खेलको प्लेयर अफ द म्याच दमककी गोलरक्षक सजिया क्षेत्री भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।
दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।