पथरी शनिश्चरे तमु ल्होसार महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश
बिर्तामोड । बिर्तामोडको डोमालाल रंगशालामा भईरहेको तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगितामा आज मोरङको पथरी शनिश्चरे महिला एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो दिनको खेलमा मोरङले विदेशी टोली भारत कालिम्पोङको श्री फुटबल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको २६औँ मिनेटमा मोरङकी मुना मगरले गरेको सुन्दर गोल नै जीतका लागि पर्याप्त भयो । मनिषा विष्टको क्रसलाई मगरले गोलपोस्टको दिशा दिएकी थिइन् । त्यस्तै, खेलको ५१ औँ मिनेटमा मोरङकी केरेन लिम्बूले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
खेल अवधिभर कालिम्पोङमाथि मोरङ हावी देखिएको थियो । दोस्रो हाफमा कालिम्पोङ खेलमा फर्किन खोजे पनि गोल गर्न भने सकेन ।
खेलको प्लेयर अफ द म्याच मोरङकी मुना मगर भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।