झापा कांग्रेसको पद हस्तान्तरण सम्पन्न
बिर्तामोड । नेपाली कांग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । सोमबार जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाई प्रमाण पत्र वितरणका साथै शपथग्रहण गराइएको हो ।
नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं कांग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराए । थेवेले निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराएका थिए । नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा एवम् बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डिल्ली सिटौलाले नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई शुभकामना दिए । १४औं महाधिवेशनबाट पार्टीमा युवाहरुको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले बिचार दिएर संगठन अघि बढाउन नसके चुनौती थपिने धारणा राखे ।
नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरुको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको पाँच ‘ब’ को नीतिको कार्यान्वयन एवम् गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गरेका थिए ।
थापाको कार्यकालमा विचार, ब्यवहार, ब्यवसाय, विकास र विपदमा कांग्रेस भन्ने पाँच ब को नीति अघि सार्दै झापा कांग्रेस तथा भातृ संगठनहरुलाई सशक्त बनाइएको थियो ।
कांग्रेसको संगठन कमजोर भएर विगतको निर्वाचनमा कांग्रेसका उम्मेद्वार पराजित नभएको दावी गर्दै सभापति थापाले प्रदेश १ कै संगठनलाई गुटरहित बनाउने र कार्यक्षमता एवं क्रियाशिलताका आधारमा कार्यकर्तालाई अवसर दिने उद्घोष गरे ।
नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताउनुभयो । कसैलाई भेदभाव नगर्ने र सबैले शिर ठाडो बनाएर हिँड्ने वातावरण निर्माण गर्ने उहाँको प्रतिबद्धता छ ।