विविध कार्य गरी सकियो ट्राफिक सप्ताह
बिर्तामोड । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन आयोजित ट्राफिक सप्ताह सम्पन्न भएको छ । पुष ४ गते बाट प्रदेश १ मा शुरु भएको ट्राफिक सप्ताह सोमबार सम्पन्न भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुको संयोजनमा आयोजित सप्ताह कार्यक्रम अन्तर्गत झापामा पनि विविध गतिविधी सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले ७ बर्षीया ऋषिका भण्डारीलाई हेल्मेट लगाएर प्रारम्भ भएको कार्यक्रम सोमबार विधिवत सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामातहतका १८ वटा पोष्टमार्फत ट्राफिक सचेतनासम्बन्धि करिब ५ हजार थान पम्प्लेट, ३ हजार ८४९ थान मास्क, २५० थान सेनिटाइजर वितरण गरिएको खड्काले बताए । त्यस्तै १२० स्थानको पार्किङ्ग, ६ स्थानको ग्यारेज तथा वर्कशप, १३ स्थानको निर्माण सामाग्री हटाउनुका साथै ३८ स्थानमा नयाँ संकेत बोर्ड निर्माण गरिएको कार्यालय प्रमुख निषेश चापागाईँले जानकारी दिए ।

त्यस्तै, ५७७ जना चालक परिचालकलाई प्रशिक्षण दिनुका साथै २३१ वटा सवारी साधनको अनुगमन गरिएको कार्यालयका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ५३४ जना अटो तथा सिटी सफारीका चालकहरुलाई प्रशिक्षण दिइनुका साथै ९ वटा प्रेसर हर्न निकालिएको थियो ।
सवारी साधनमा सिट क्षमताको कार्यान्वयन, आरक्षित सिटको प्रयोग, भाडा दर टाँस गरिएको सम्बन्धि अनुगमनका साथै विभिन्न कलेज तथा विद्यार्थीलाई ट्राफिक सचेतना सम्बन्धि कक्षा सञ्चालन गरिएको प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले बताए ।

कार्यक्रमकै बीच पाँच स्थानमा टाइम कार्ड लागू सम्बन्धि जाँच, २२४ जना चालकहरुको स्वास्थ्य जाँच तथा एक हजार ६० वटा सवारी साधनको मेकानिकल जाँच गरिएको बताइएको छ ।