माओवादी केन्द्रको महाधिवेशन आज सकिँदै, चुनावपछि विशेष महाधिवेशन गर्ने
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने भएको छ । शुक्रबार अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् भने शनिबार विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको सम्बोधन भएर सो प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । माओवादीले सहमतिमै नेतृत्व र केन्द्रीय कमिटी चयन गर्ने बताइएको छ ।
अध्यक्ष प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।
केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले किटान गरेर नबोलेपनि सबैको भावना समेट्ने बताएका छन् ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।
उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।